छैटौं राष्ट्रिय महाधिवेशन

राजनीतिक प्रतिवेदन

आदरणीय अध्यक्ष तथा अध्यक्षमण्डलका कमरेडहरु,

अतिथि कमरेडहरु,

प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरु,

हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको पाँच वर्ष पुगेको छ । यथासमयमा विधिवत् छैंटौं राष्ट्रिय महाधिवेशन सम्पन्न हुँदैछ । ऐतिहासिक पाँचौं राष्ट्रिय महाधिवेशनबाट पारित कार्यक्रम, सिद्धान्त र नीतिको आधारमा हामीले उथलपुथलपूर्ण पाँच वर्षको अवधि सफलतापूर्वक पूरा गरेका छौं । पाँचौं महाधिवेशनद्वारा निर्धारित राजनीतिक दिशा अनुरुप अघि बढिरहँदा हामीले प्राप्त गरेका उपलब्धि तथा हामीबाट भएका कमी कमजोरीहरुको समीक्षा गर्ने महत्वपूर्ण अवसरका रुपमा रहेको छैंटौं राष्ट्रिय महाधिवेशनमा हामी उपस्थित भएका छौं । आ–आफ्नो कार्यक्षेत्रमा डटेर अमूल्य अनुभवहरु हासिल गरी यहाँ सहभागी हुनुभएका सम्पूर्ण कमरेडहरुलाई हार्दिक स्वागत गर्दै अभिवादन गर्दछु । यस घडीमा, हामीलाई पाँचौं राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रुपमा प्रस्तुत गर्न दृढतापूर्वक नेतृत्व गर्ने तत्कालीन महासचिव जननेता कमरेड मदन भण्डारीका योगदानहरुको स्मरण भइरहेको छ । उहाँकै सक्रियता र नेतृत्वमा, व्यापक र गहन वादविवाद तथा छलफल पश्चात् पार्टी पंक्तिले जनताको बहुदलीय जनवादी कार्यक्रमलाई आत्मसात् गर्दै पाँचौं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको थियो । तदनुकूल नै पार्टीको विधान, संगठनात्मक सिद्धान्त एवं कार्यनीति स्वीकृत भएका थिए । विगत पाँच वर्षको अवधिमा यी सबै कार्यक्रम, सिद्धान्त र नीतिहरुको व्यवहारिक परीक्षण भइसकेको छ । जनताको बहुदलीय जनवाद आफ्नो विशिष्टता र मौलिकताको फलस्वरुप पार्टी पंक्ति तथा जनताको माझमा लोकप्रिय भएको छ । पार्टीले प्राप्त गरेका सफलताहरु तथा सुस्पष्ट सैद्धान्तिक मार्गदर्शनबाट जनताको बहुदलीय जनवादको समय सापेक्षता र औचित्य पुष्टी भएको छ ।

पार्टीलाई वस्तुगत यथार्थको आधारमा क्रान्तिकारी किसिमले अघि बढाउन नेतृत्व प्रदान गर्ने जननेता कमरेड मदन भण्डारी आज हाम्रो माझ हुनुहुन्न । पाँचौं राष्ट्रिय महाधिवेशनलाई सफलतापूर्वक सही निष्कर्षमा पु¥याउन ठूलो भूमिका खेल्नुहुने श्रद्धेय कमरेड जीवराज आश्रित पनि हाम्रो बीचमा रहनुभएन । पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको १०० दिन नबित्दै जननेता कमरेड मदन भण्डारी तथा श्रद्धेय कमरेड जीवराज आश्रितको २०५० साल जेष्ठ ३ गते चितवन जिल्लाको दासढुंगामा षडयन्त्रपूर्ण जीप दुर्घटनामा निधन भयो । अनवरत पार्टी काममा जुटिरहँदाकै बखत उहाँहरु क्रुर षडयन्त्रको शिकार हुनुभयो । उहाँहरुको असामयिक निधन नेपालको राष्ट्रियता र प्रजातन्त्रको आन्दोलन, कम्युनिष्ट आन्दोलन तथा नेकपा (एमाले) को लागि गम्भीर एवं अपूरणीय क्षति हो । दिवंगत नेताद्वयको ससम्मान स्मरण गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

वितेको अवधिमा हामीले नेपालको कम्युनिष्ट आन्दोलनका सर्वाधिक पाको उमेरका नेता तेश्रो महाधिवेशनका महासचिव र हाम्रो पार्टीको स्थायी कमिटीका सदस्य कमरेड तुलसीलाल अमात्यलाई गुमाएका छौं । केन्द्रीय कमिटीका सदस्य तथा महाकाली अञ्चल समन्वय कमिटीका इन्चार्ज र प्रतिनिधिसभाका सदस्य कमरेड पे्रमसिंह धामीको जीप दुर्घटनामा परी दुःखद निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीकी संस्थापक सदस्या कमरेड मोतीदेवी श्रेष्ठ हाम्रो माझमा रहनुभएन । हाम्रो पार्टी केन्द्रीय सल्लाहकार कमिटीका सदस्य कमरेड महेश उपाध्याय, न्यायिक कमिटीका सदस्य सांसद कमरेड धनपति उपाध्याय, राष्ट्रिय परिषदका सदस्य सांसद कमरेड द्रोणाचार्य क्षेत्री, राष्ट्रिय परिषदका सदस्य कमरेड विनोद घिमिरे, राष्ट्रिय परिषदका सदस्य कमरेड श्यामबाबु दाहाल र धनुषा जिल्ला कमिटीका सदस्य किसान नेता कमरेड पुलकित ठाकुरको असामयिक निधन भएको छ । म उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

त्यस्तै २०४६ सालको राष्ट्रिय जनआन्दोलनका नेता गणेशमान सिंहको निधन भएको छ । उहाँप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

राष्ट्रिय हीत, प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलनको पक्षमा संघर्ष गर्दै जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु तथा विगत पाँच वर्षमा आफ्नो जीवन गुमाउनु हुने पार्टी सदस्यहरु प्रति हार्दिक सम्मान ब्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु ।

नवयुग

ठेगाना