केन्द्रीय कमिटीको सातौ बैठक सम्पन्न (प्रेस विज्ञप्ति)

११ असोज २०७३

प्रेस विज्ञप्ति

२०७३ असोज ५ गते सुरु भएको नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा छ दिनसम्म चलेर आज सम्पन्न भएको छ । बैठकले राष्ट्रिय राजनीति र पार्टी जीवनसँग सम्बन्धित विविध विषयमा गम्भीर छलफल गरी निष्कर्षहरु निकालेको छ । 
समग्र राजनीतिक परिस्थितिको विश्लेषण र हाम्रा कार्यभारहरुका बारेमा अध्यक्ष कमरेड केपी ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन तथा संगठनात्मक अवस्था र अबका कामहरुका बारेमा महासचिव कमरेड ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रस्ताव गहन छलफलपछि केन्द्रीय सदस्यहरुका महत्वपूर्ण सुझावसहित पारित भएका छन् । यी प्रतिवेदनहरुका आधारमा पार्टीले चार महिने ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान– २०७३’ सञ्चालन गर्ने निर्णय गरेको छ । 
हाम्रो पार्टीको नेतृत्वदायी भूमिकामा जारी भएको संविधान कार्यान्वयन हुन नदिनका लागि अहिले पनि अनेकौँ दुष्प्रयासहरु जारी छन् । मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन र संविधान कार्यान्वयन गर्नका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्नु अपरिहार्य छ । स्थानीय तहको पुनःसंरचना अविलम्ब गरी स्थानीय तह, प्रादेशिक तह र केन्द्रीय तहका निर्वाचनहरु सम्पन्न गर्नका लागि पार्टीले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालेको छ । संविधानलाई असफल बनाउने भित्री–बाहिरी जस्तासुकै षड्यन्त्रहरुको डटेर मुकाबिला गर्ने र निर्वाचनमार्फत यसलाई कार्यान्वयन गराउने अभियानमा गोलबन्द हुन सबै राजनीतिक शक्ति र आम नागरिकलाई पार्टीले अपिल गरेको छ । 
बढिरहेका बाह्य प्रतिकूलतासँग जुध्नका लागि एकताबद्ध र बलियो पार्टी आवश्यक छ भन्नेमा कुनै दुईमत छैन । आफूभित्र देखिएका कमीकमजोरी र रहन गएका समस्याहरु समाधान गर्दै अघि बढेर यो पार्टी आजको अवस्थामा आइपुगेको छ र यो एउटा निरन्तर प्रक्रिया हो भन्नेमा पार्टी विश्वास गर्दछ । 
बैठकले पार्टीको आन्तरिक एकतालाई अझ सुदृढ गर्दै आगामी जुनसुकै प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न स्थायी कमिटीको ४३ औ बैठकले पारित गरेको विशेष प्रस्तावलाई आवश्यक परिमार्जन गरी  ‘पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालनका लागि १० बु“दे विशेष प्रस्ताव’ पारित गरेको छ ।
बैठकमा केन्द्रीय क्रमशः केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कमरेड अमृतकुमार बोहरा, केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष कमरेड डा. पुष्प कँडेल र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष कमरेड केशवप्रसाद बडालले आ–आफ्ना तर्फबाट प्रतिवेदनहरु पेस गर्नुभयो ।
बैठकले लिएका निर्णय र पार्टीका कार्यभारहरुका बारेमा बरिष्ठ नेता कमरेड झलनाथ खनालले बैठकमा आफ्ना महत्वपूर्ण भनाइहरु राख्नुभयो । 
सल्लाहकार परिषद्मा मनोनयन, जेष्ठ कम्युनिस्ट मञ्च गठन, केही केन्द्रीय सदस्यहरुको कार्यविभाजन स्थायी समितिको बैठकबाट अविलम्ब गर्ने निर्णय गरिएको छ । 
बैठक समापन गर्दै अध्यक्ष कमरेड ओलीले बैठकबाट पारित भएको कार्ययोजनालाई कार्यक्षेत्रमा कार्यान्वयन गर्नका लागि सबै केन्द्रीय सदस्यहरुलाई निर्देशन दिँदै चार महिने अभियानमा सक्रियतापूर्वक खट्न, बैठकद्वारा पारित विशेष प्रस्ताव अनुसार पार्टीलाई सुदृढ र एकताबद्ध बनाउन र संविधान कार्यान्वयनका लागि सकारात्मक भूमिका निर्वाह गर्न र आगामी सबै निर्वाचनहरुमा बहुमतसहितको पहिलो पार्टीका रुपमा नेकपा (एमाले) लाई स्थापित गर्न आह्वान गर्नुभयो ।  
केन्द्रीय कमिटीको बैठकबाट पारित १६ बुँदे प्रस्ताव, पार्टीको आन्त्रिक एकता र प्रभावकारी परिचालनका लागि विशेष प्रस्ताव र ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान– २०७३’ सम्बन्धी विवरणहरु यसैसाथ संलग्न छन् ।

 
योगेश भट्टराई 
प्रमुख


नवयुग

ठेगाना