नेकपा (एमाले) पोलिटब्युरोको बैठकको प्रेस वक्तव्य

       ४ फागुन २०७३

प्रेस वक्तव्य

नेकपा (एमाले) पोलिट्ब्युरोको बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ । बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले संक्षिप्त मन्तव्य व्यक्त गर्नुभयो । सो क्रममा नेपाली जनताको लामो संघर्षको परिणामस्वरुप सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट लोकतान्त्रिक विधि र प्रक्रियाका आधारमा जारी भएको नेपालको संविधानको रक्षा गर्नु, सम्बद्र्धन गर्नु र त्यसको कार्यान्वयन गर्नु यतिबेला नेपाल राष्ट्र र नेकपा (एमाले)को ऐतिहासिक कार्यभार रहेको कुरामा जोड दिनुभयो । संविधानले समेत निर्दिष्ट गरे मुताविक २०७४ माघ ७ गते अगाडि नै जनप्रतिनिधिमूलक निकायहरु निर्वाचनको माध्यमबाट गठन गर्नु अनिवार्य रहेको कुरामा जोड दिंदै स्थानीय तह र केन्द्रीय तहका निर्वाचनका मितिहरु अविलम्ब घोषणा गर्न, त्यसका लागि कानुनी तथा राजनीतिक वातावरण निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभयो । मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी समृद्धिको दिशामा अगाडि बढ्न निर्धारित समय अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प नरहेको कुरामा अध्यक्ष कमरेडले जोड दिनुभयो । 

आजको बैठकमा समसामयिक परिस्थिति, पार्टीको संगठनात्मक अवस्था, पार्टीका तात्कालिक कार्यभारहरु लगायतका विषयहरु समेटिएको राजनीतिक प्रतिवेदन अध्यक्ष कमरेड केपी शर्मा ओलीले बैठकसमक्ष प्रस्तुत गर्नुभयो । १० पेज लामो उक्त प्रतिवेदन पोलिट्ब्युरो सदस्य कमरेडहरुले अध्ययन गरी भोलिको बैठकमा राय, सुझाव तथा धारणाहरु प्रस्तुत गर्नुहुनेछ । 

आज डडेल्धुराको भागेश्वरबाट सदरमुकामतर्फ जाँदै गरेको से.१ज ८३३ नं. को यात्रुबाहक जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै बैठकले मृतकहरुप्रति श्रद्धाञ्जलि, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 
बैठकमा पार्टी स्थायी समितिद्वारा पारित यही फागुन २१ देखि सञ्चालन हुने मेची–महाकाली राष्ट्रिय अभियानसम्बन्धी कार्ययोजनाहरु सचिवालय सचिव कमरेड प्रदीप ज्ञवालीले बैठकसमक्ष प्रस्तुत गर्नुभएको छ । आजै यही फागुन १४ गते देशभरिका क्याम्पसहरुमा हुने स्वतन्त्र विद्यार्थीहरुको निर्वाचन र त्यसमा पार्टीको तर्फबाट खेल्नुपर्ने भूमिकाको बारेमा सचिव कमरेड योगेश भट्टराईले बैठकसमक्ष प्रस्तुत गर्नुभयो । बैठकले पोलिट्ब्युरो बैठकका लागि निम्न कार्यसूचीहरु तय गरेको छ । 

१.    अध्यक्षको प्रतिवेदन प्रस्तुत, छलफल र पारित गर्ने । 
२.    मेची–महाकाली राष्ट्रिय अभियान 
३.    स्थानीय तहसहित सबै तहको निर्वाचन सम्बन्धमा । 
४.    स्ववियु निर्वाचन सम्बन्धमा । 
५.    विविध 
बैठक भोलि १२ बजे पुनः बस्नेछ । 
 
योगेश भट्टराई 
प्रमुख

नवयुग

ठेगाना