स्थानीय तहको निर्वाचन र पछिल्लो राजनीतिक परिस्थिती बारे पत्रकार सम्मेलन (प्रेस वक्तव्य सहित)

भोलि २०७४ साल बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको पहिलो चरणको निर्वाचनको  पूर्वसन्ध्यामा हामी सबै न्यायप्रेमी दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गर्दछौं ।

बलियो स्थानीय सरकार नेपाली जनताको चीरप्रतिक्षित चाहना हो । यसै चाहनामाथि आधारित भएर नेपालको संविधानमा अधिकारसम्पन्न स्थानीय तहहरु सहित सङ्घीय ढाँचाको व्यवस्था गरिएको छ । जनताको घर–आँगनसम्म अधिकार पुग्न नदिने अनेकौं प्रयाशलाई विफल पार्दै सुनिश्चित गरिएको यस व्यवस्थाअनुरुप हामी स्थानीय तहको निर्वाचनमा सहभागी हुन जुटेका छौं । यस निर्वाचनले संविधानको कार्यान्वयन र नवस्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई आधारभूत तहसम्म पु¥याउने महत्वपूर्ण कडीको भूमिका खेल्नेछ । निर्वाचनपश्चात जनताको स्वशासन सुरुवात हुनेछ  र लामो समयदेखि अवरुद्ध विकास निर्माणका काम तथा जनताको सेवा–सुविधाको पहुँचमा नयाँ गति प्राप्त हुनेछ । स्थानीय तहहरुमा महिला, दलितलगायत पछाडि परेका÷पारिएका समुदायको प्रतिनिधित्व व्यापक रुपमा बृद्धि हुनेछ । त्यसैले आफ्नो सबैभन्दा नजिकको सरकार आफै छान्ने यस निर्वाचनमा उत्साहपूर्णढङ्गले सहभागी हुन र आफूले रुचाएका उम्मेदवारहरुको पक्षमा मतदान गर्न हामी सबै मतदाताहरुमा अनुरोध गर्दछौं ।

निर्वाचनलाई निष्पक्ष, भयरहित तथा स्वच्छ वातावरणमा सम्पन्न गराउनु र प्रत्येक मतदाताको मताधिकार र मतको सुरक्षाको प्रत्याभूति गर्नु निर्वाचन आयोग र सरकारको दायित्व हो । नेकपा (एमाले) ले यस सम्बन्धमा सम्बन्धित निकायहरुको गंभीर ध्यानाकर्षण गर्दै आएको छ । तर निर्वाचनका सर्वमान्य सिद्धान्त र आचारसंहिता विपरीत सरकार र सत्ताधारी दलहरुका तर्फबाट निर्वाचनलाई प्रभावित गर्न राज्यकोषबाट जथाभावी रकमान्तर गर्ने, पदीय हैसियत र सरकारी साधनस्रोतको दुरुपयोग गर्ने कामहरु रोकिएका छैनन् । पछिल्ला दिनहरुमा नेकपा     (एमाले) का नेता कार्यकर्तालाई लक्षित गरेर स्याङ्जा, नवलपुर, भोजपुर, गोरखा, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप लगायत ठाउँमा हिंसा र आक्रमणका घटनाहरु तीव्र पारिएका छन् । दोलखामा हाम्रो पार्टीका कार्यकर्ता कुलबहादुर तामाङको नृशंस हत्या गरिएको छ । बारम्बारको ध्यानाकर्षणका बाबजुद यी कामहरु नरोकिनुले हाम्रो पार्टीलाई गंभीर र चिन्तित तुल्याएको छ । यस्ता कामहरु तत्काल रोक्न प्रभावकारी कदमका लागि निर्वाचन आयोग र सरकारको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं ।

सरकार र सत्ताधारी दलहरुबाट हुनसक्ने अनुचित दबाब र प्रभावबाट मुक्त रहँदै संविधान र कानुनले निर्धारण गरेको कर्तव्य निष्पक्षतापूर्वक सम्पन्न गर्न सबै राष्ट्रसेवकहरू, सुरक्षा अङ्गहरु र राज्यका सबै निकायहरुसँग आग्रह गर्दछौं ।

स्थानीय तहको निर्वाचनका सम्बन्धमा निरन्तर चासो राख्ने अन्तर्राष्ट्रिय समुदायप्रति धन्यवाद ज्ञापन गर्दै स्थानीय तहसम्म लोकतन्त्र विस्तार गर्ने नेपालको यस प्रयाशमा निरन्तर साथ सहयोग रहने अपेक्षासमेत गर्दछौं ।

लोकतन्त्रमा आफ्ना मान्यताहरुको वैधता परीक्षण गर्ने र तिनमा जनताको अनुमोदन प्राप्त गर्ने उपयुक्त विधि निर्वाचन नै हो । त्यसैले विभिन्न असहमति राखेर निर्वाचन प्रक्रियाभन्दा बाहिर रहेका दलहरुलाई पनि दोस्रो चरणको निर्वाचनमा उत्साहसाथ सहभागी हुन अनुरोध गर्दछौं । 

शान्तिपूर्ण र वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रुपान्तरण गर्ने भन्ने जनताको बहुदलीय जनवादको सैद्धान्तिक मार्गदर्शनलाई आत्मसात् गरेको नेकपा(एमाले) जनताको जनादेशको उच्च सम्मान गर्दछ । यही प्रक्रियाको निरन्तरताबाट राजनीतिक स्थिरता, आर्थिक समृद्धि र सामाजिक न्यायको प्रत्याभूति गर्दै सुखी नेपालीः समृद्ध नेपालको घोषित लक्षमा पुग्न सकिन्छ हाम्रो दृढ विश्वासलाई दोहो–याउन चाहन्छौं ।

भर्खरै हत्या–हिंसाको पीडादायी कालखण्डबाट गुज्रेको नेपालमा फेरि हिंसात्मक गतिविधि किमार्थ स्वीकार्य हुन सक्दैन । तसर्थ त्यस्तो गतिविधिबाट पृथक रहन सम्बन्धित पक्षको गंभीर ध्यानाकर्षण गर्दै प्रभावकारी सुरक्षा व्यवस्थाको लागि सरकारसँग माग गर्दछौं । 

मतदान गर्नु नागरिकहरुको अधिकार मात्र होइन, कर्तव्यको पनि बिषय हो । तपाईँको अमूल्य मतले सही जनप्रतिनिधि चयनमा निर्णायक भूमिका खेल्छ र राज्यका निकायहरुलाई  जनताप्रति उत्तरदायी हुन मद्दत गर्छ । त्यसैले, आस र त्रासबाट मुक्त रहेर आफ्ना मनका प्रनिनिधिहरुलाई मतदान गर्न पुनः आह्वान गर्दछौं । स्वस्थ एवम् मर्यादित प्रतिस्पर्धाको लागि सबै राजनीतिक दलहरुलाई आग्रह गर्न चाहन्छौं ।
 
      केपी शर्मा ओली
अध्यक्ष


नवयुग

ठेगाना