स्थानीय तहको सीमांकन र संख्यालाई हेरफेर गर्ने कुरा नेकपा (एमाले)का लागि स्वीकार्य नहुने (स्थायी कमिटीको प्रेस वक्तव्य सहित)


नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष कमरेड वामदेव गौतमको निवास भैंसेपाटी ललितपुरमा बस्यो । आज २४औं मदन–स्मृति दिवससमेत परेको सन्दर्भमा सुरुमै जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति बैठकले उच्च सम्मानका साथ श्रद्धासमुन अर्पण गरेको छ ।  बैठकमा स्थानीय तहको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गरी विभिन्न निर्णयहरू गरिएको छ । 

बैठकले स्थानीय तहको पहिलो चरणको निर्वाचन गत वैशाख ३१ गते मतदान भई मतगणना जारी छ । निवार्चनपछि फरक पहिचान र हैसियतसहित निर्माण भएका स्थानीय तहले विशेष अर्थ राख्दछन् । यस निर्वाचनमा जनताको उत्साहजनक सहभागिताप्रति नेकपा (एमाले) खुशी व्यक्त गर्दछ । आफ्ना प्रतिनिधिहरूको चयनका लागि मतदान गर्ने सम्पूर्ण मतदाताहरूलाई पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ । स्थानीय तहको निर्वाचनले जनताका प्रतिनिधिहरूद्वारा निर्मित नेपालको संविधानलाई जनअनुमोदित गर्नुका साथै संविधान कार्यान्वयनका निम्ति थप आधारसमेत प्रदान गरेको छ । 

निर्वाचनपूर्वदेखि नै सत्तारुढ गठबन्धनका तर्फबाट परिणामलाई गलत ढंगले प्रभावित गर्न अनेकखालका अराजनीतिक क्रियाकलापहरू हुँदै आएको सर्वविदितै छ । यसैक्रममा प्रहरी, प्रशासन र राज्यका कतिपय निकायहरूलाई सरकारले दुरुपयोग गरेका घटनाप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ । खासगरी सत्ताधारी गठबन्धनका कार्यकर्ताहरूको संलग्नतामा दोलखा, सिन्धुपाल्चोक, धादिङ, काभे्र, रसुवा, हुम्ला, रुकुम, नुवाकोट, मकवानपुर, रामेछापलगायतका जिल्लामा मूलतः सत्ताको आडमा भएका अपराधिक र अराजनीतिक क्रियाकलापहरुको नेकपा (एमाले) घोर भत्र्सना गर्दछ । निर्वाचनको सिलसिलामा भएका यस्ता घटनाहरूको छानविन गरी दोषीहरूउपर कारबाही गर्न संसदीय छानविन समिति गठन गर्नसमेत माग गर्दछ । निर्वाचनको क्रममा भएका यस्ता अपराधिक क्रियाकलाप र राज्यसत्ताको दुरुपयोगसमेत गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने क्रियाकलापलाई गम्भीरताका साथ लिँदै आवश्यक कारबाही गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दछ । 

यही सिलसिलामा विभिन्न ठाउँमा जीवन गुमाएका कुलबहादुर तामाङ (दोलखा), नवराज पाठक  (काभ्रे) र धनबहादुर बटाला (कालिकोट) प्रति हाम्रो पार्टी श्रद्धाञ्जलि व्यक्त गर्दछ । उहाँहरूका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसमक्ष जोडदार माग गर्दछ र निर्वाचनकै सिलसिलामा घाइते श्याम दाहाल  (मकवानपुर) र दिलबहादुर बुढाथोकी (दोलखा) लगायतका घाइते हुनेहरू सबैको उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछ । र, उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 

हाम्रो पार्टीलाई पराजित गर्न गरिएका अपबित्र गठबन्धनहरू, नेकपा (एमाले)बिरुद्धका घेराबन्दी, षड्यन्त्र र देशव्यापी आक्रमणहरू, राज्यपक्षको व्यापक दुरुपयोगका बाबजूद धैर्य, संयम र जिम्मेवारीका साथ लोकतन्त्रको सुदृढीकरण र नेकपा (एमाले)को विजयका लागि अहोरात्र क्रियाशील देशभरिका पार्टी सदस्य र समर्थकहरूप्रति बैठक धन्यवाद ज्ञापन गर्दछ । र, यस्तो कठीन र चुनौतीको बीचमा पनि नेकपा (एमाले)को विजयलाई सुनिश्चित गर्न आफ्नो अमूल्य मतदान गर्नुहुने आम जनसमुदाय र मतदाताहरूप्रति धन्यवाद ज्ञापन गर्दछ । 

स्थानीय तहको संख्या सीमांकन र नामांकनसम्बन्धी प्रतिवेदनलाई स्वीकृत गरी पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको वर्तमान अवस्थामा हामी यही आधारमा अविलम्ब दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग र सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं । निर्वाचनका सम्पूर्ण तयारीका कामहरु अन्तिम चरणमा पुगिसकेको अवस्थामा भ्रम र अन्योल उत्पन्न गर्ने गरी स्थानीय तहको सीमांकन र संख्यालाई हेरफेर गर्ने कुरा नेकपा (एमाले)का लागि स्वीकार्य नहुने कुरा पुनः स्पष्ट गर्दछौं । 

नेपाली जनताको अथक प्रयत्न र नेकपा (एमाले)सहितका प्रमुख राजनीतिक दलहरुको सहमति र नेतृत्वमा संविधान जारी भएको र यसै संविधानको कार्यान्वयन गर्दै नेपालमा राजनीतिक स्थायित्वमार्फत् समृद्धि हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने आजको राष्ट्रिय आवश्यकताहो । यसै तथ्यलाई ध्यान दिँदै सबैखालका चुनौतीहरुलाई सामूहिक ढंगले सामना गर्न र तोकिएको समयभित्र तीनवटैै तहको निर्वाचन सम्पन्न गरी नेपाल राष्ट्रलाई थप एकताबद्ध बनाउनुपर्ने ऐतिहासिक आवश्यकतालाई ध्यान दिँदै हाम्रो पार्टी सबै राजनीतिक दलहरुका बीच एकता, सहमति र सहकार्यको ऐतिहासिक आवश्यकता रहेको कुरामा जोड दिन चाहन्छ । 

मित्र राष्ट्र चीनको नेतृत्वमा सुरु गरिएको ‘वान बेल्ट ः वान रोड’ (ओबीओआर) परियोजनामा नेपालको सहभागितका लागि नेकपा (एमाले)को सरकारकै पालामा थालनी गरिएको प्रयाशकै निरन्तरताको रुपमा दुई राष्ट्रबीच औपचारिक हिसाबले समझदारी पत्रमा हस्ताक्षर भएकोप्रति हाम्रो पार्टी खुशी व्यक्त गर्दछ । यस परियोजनाले नेपालको आर्थिक विकासमा थप सहयोग पुग्नेछ र नेपाललाई अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न सहयोग मिल्नेछ भन्ने विश्वास बैठकले व्यक्त गरेको छ । 

हाम्रो पार्टी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसदमा पेस गरिएको औचित्यहीन महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन सम्बन्धित पक्षहरुसँग माग गर्दछौ । साथै, बिनाऔचित्य अगाडि बढाइएको संविधान संशोधन प्रस्तावसमेत फिर्ता गरी सहजढंगले दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गर्न, संविधान कार्यान्वयन र तोकिएको समयमा तीनै तहको निर्वाचन सम्पन्न गर्ने काममा राजनीतिक समझदारी निर्माण गर्न सरकारसमक्ष माग गर्दछ ।  

बैठकले अस्वस्थ भई उपचारको क्रममा रहनुभएका केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष कमरेड केशव बडाल र पार्टी पोलिट्ब्युरो सदस्य अग्नि खरेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 

 

नवयुग

ठेगाना