केन्द्रीय सल्लाहकार परिषद्का पूर्व सचिव तथा राष्ट्रिय सभाका पूर्व सदस्य कमरेड वीरबहादुर सिंहप्रति भावपूर्ण श्रद्धाञ्जलि

नेकपा (एमाले) का नेता, केन्द्रीय सल्लाहकार परिषद्का पूर्व सचिव र राष्ट्रिय सभाका पूर्व सदस्य कमरेड वीरबहादुर सिंहको ७७ वर्षको उमेरमा असामयिक निधन भएकोमा हाम्रो पार्टी स्तब्ध र दुःखित भएको छ । स्थानीय तहको निर्वाचनलगत्तै असार २७ गते राती १ः०० बजे प्यूठान नौबहिनी गाउँपालिका–६ लुङस्थित आफ्नै घरमा राती बार्दलीबाट लडेर घाइते हुनुभएका उहाँको काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगलमा उपचार भइरहेको थियो । पहिलो चरणमा २२ दिन उपचार गरिसकेपछि डिस्चार्ज हुनुभएका उहाँ पुनः अस्पताल भर्ना हुनुभयो । मस्तिष्कको चोटसँगै मृगौला र कलेजोमा उत्पन्न समस्याका कारण सघन उपचार कक्ष (आइसीयू)मा लगातार १४ दिन उहाँको उपचार भइरहेकोमा भदौ ११ गते ७ः०३ बजे दुःखद अवशान हुनुपुग्यो ।

वि.सं. १९९७ साल मंसिर १ गते बुबा ईश्वरबहादुर केसी र आमा चेतना केसीको कोखबाट जन्मिनुभएका उहाँले २०१५ सालदेखि नै नेपालको कम्युनिस्ट आन्दोलनमा अनवरत योगदान गर्दै आउनुभएको थियो । २०२१ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभएका उहाँले मूलतः बनारसमा अध्ययनको क्रमदेखि नै निर्वासित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको प्रभावमा रही उहाँले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । २०४६ को आन्दोलनको पूर्वसन्ध्यामा उहाँ प्यूठान जिल्लामा नेकपा (माले) को धारलाई संगठित रुपमा अघि बढाउन गठित जिल्ला पार्टी सक्रिय दलको संस्थापक सचिव भएर त्यसयता पार्टीको जिल्ला कमिटी सचिव, अञ्चल कमिटी सदस्य र केन्द्रीय सल्लाहकार कमिटी सचिव जस्ता जिम्मेवारीमा रही सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । झन्डै ६० वर्ष लामो राजनीतिक यात्रामा उहाँले कम्युनिस्ट आन्दोलनप्रति अविचलित आस्था, जनताको निःस्वार्थ सेवा र सादगीपूर्ण एवम् स्वच्छ जीवनका आदर्शहरु स्थापित गर्नुभएको छ । 

उहाँले प्यूठानको चर्चित मुक्ति माध्यमिक विद्यालय रातामाटा, जनता माध्यमिक विद्यालय बागदुला, जनज्योति माध्यमिक विद्यालय चुत्राबेसी, अर्घाखाँचीलगायत रोल्पाको लिबाङ, बाग्लुङको बोहरा गाउँ, गुल्मीको धुर्कोटबस्तु आदि विद्यालयहरुमा अध्यापन गर्नुभएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षका रुपमा उहाँ लामो समय प्यूठानमा क्रियाशील हुनुहुन्थ्यो । जिल्लाका एक चर्चित र अत्यन्तै सम्मानित प्रधानाध्यापकका रुपमा उहाँ धेरै विद्यार्थीहरुको हृदयमा सम्मानित हुनुहुन्छ । राष्ट्रिय सभाका पूर्व सदस्यसमेत रहनुभएका उहाँले प्यूठानी जनताको जनप्रतिनिधिका रुपमा समेत जनसेवा गर्नुभएको छ । 

उहाँका छोरा विजय, अजय र सञ्जय तथा छोरीहरु लक्ष्मी र सावित्रा हुनुहुन्छ ।  दुःखको यस क्षणमा हाम्रो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । 

नवयुग

ठेगाना