जनकपुर घटना प्रदेश नं. २ मा अशान्ति मच्चाउने र निर्वाचन सम्पन्न हुन नदिने षड्यन्त्रको नमुना

आज मिति २०७४ भदौ १३ गते नेकपा (एमाले)सँग सम्बद्ध जनसंगठनहरुको प्रदेश नं. २ स्तरीय भेला धनुषा जिल्लाको जनकपुरमा चलिरहेको बेला केही उच्छृंखल व्यक्तिहरुले ढुंगामुढा गर्ने अभद्र व्यवहार प्रदर्शन गर्ने जस्ता घटना घटाएको प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित पार्टी सचिव गोकर्ण विष्टलगायत पार्टीका केन्द्रीय सदस्य, सांसदहरु र प्रदेश नं. २ का जनसंगठनहरुका अगुवाहरुको व्यापक उपस्थितिमा सञ्चालन भइरहेको संयमित र शान्तिपूर्ण कार्यक्रममाथि अराजक जत्थाले हुलहुज्जत गर्ने, प्रदेश नं. २ मा अशान्ति मच्चाउने र निर्वाचन सम्पन्न हुन नदिने षड्यन्त्रको रुपमा रहेको बुझ्न सकिन्छ । पार्टीका बरिष्ठ नेताहरु संलग्न कार्यक्रममा यथोचित शान्ति सुरक्षाको व्यवस्थापन गर्नुपर्ने संवेदनशीलताप्रति स्थानीय प्रशासन गम्भीर नहुनु आफैंमा दुःखद् कुरा हो । हाम्रो पार्टी यस्ता कुत्सित षड्यन्त्रप्रति सजग रहन प्रदेश नं. २ का आम जनसमुदायलाई आह्वान गर्दछ । साथै, आज नेकपा (एमाले)को कार्यक्रममाथि हुलहुज्जत गर्ने अराजक जत्थालाई नियन्त्रण गरी कारवाही गर्न माग गर्दछ । 

निर्वाचनको संवेदनशीलतालाई ध्यान दिँदै जनतालाई भयरहित वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार सुनिश्चित गर्न नेपाल सरकार र स्थानीय प्रशासनसँग जोडदार माग गर्दछ । प्रतिकूलताका बाबजूद नेकपा (एमाले)को कार्यक्रममा उपस्थित अपार जनसमुदायको उत्साहप्रति हाम्रो पार्टी गर्ब गर्दछ । साथै, सबैखाले अवरोधलाई चिर्दै उत्साह एकताका साथ प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)लाई पहिलो पार्टीको रुपमा स्थापित गर्न पार्टीका सम्पूर्ण कार्यकर्ता र आम जनसमुदायलाई अपिल गर्दछ । निर्वाचन घोषणा भएर आचारसंहितासमेत लागू भई निर्वाचन सम्मुखमा आइसकेको बेलामा भएको यस्तो घटनाप्रति संवेदनशील हुन हाम्रो पार्टी निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दछ । 

नवयुग

ठेगाना