बिष्फोट र एम्बुसलाई कडाइका साथ नियन्त्रणमा लिइ सुरक्षा अवस्था मजवुत बनाऊ सरकारलाई एमालेको आग्रह

चुनावी प्रचार अभियानमा रहनुभएका हाम्रो पार्टीका शीर्ष नेताहरूलाई लक्षित गरी एकपछि अर्काे बिस्फोट र एम्बुस थाप्नेजस्ता आपराधिक घटनाहरू दिनप्रतिदिन बढ्न थालेको छ । हिजो मात्रै संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा स्थायी कमिटी सदस्य कमरेड सुवासचन्द्र नेम्वाङलाई लक्षित गरी पाँचथरको जोरपोखरीस्थित राजमार्गमा शक्तिशाली बम राखिएको छ । 

चुनावी प्रचार–प्रसारको क्रममा पाँचथरको तुम्मेवा गाउँपालिकास्थित मौवा बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न इलामबाट पाँचथर जान लाग्नुभएका नेता नेम्वाङलाई लक्षित गरी राजमार्गमै शक्तिशाली डेटेनेटर बम राखिएको हो । सो बम निकै शक्तिशाली रहेको र बिष्फोट भएको अवस्थामा गाडी नै क्षतबिक्षत हुने जानकारी सुरक्षा निकायले दिएको छ । चालक दलको सजगताका कारण कमरेड सुवासचन्द्र नेम्वाङ सो एम्बुसमा पर्नबाट जोगिनु भएको छ । 

हिजै धादिङमा पनि बम बिष्फोट भएको छ भने आज संखुवासभामा बिष्फोट गराइएको छ । रुकुम, रोल्पा, भोजपुर, रौतहट हुँदै बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उमेदवार तथा शीर्ष नेतालाई लक्षित गरी सुरु गरिएको विस्फोटका घटना पछिल्लो दिनमा झनै बढ्न थालेको छ । एकपछि अर्काे बिस्फोट र एम्बुस थाप्ने जस्तो आपराधिक क्रियाकलाप बढिरहेका छन् । विस्फोटका घटना बढिरहने तर सरकार भने कुनै जिम्मेवारी बहन नगरी कानमा तेल हालेर बस्ने कामले नेकपा (एमाले) निकै गम्भीर बनेको छ । सरकार कतै बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र शीर्ष नेतालाई चुनावी प्रचार–प्रसारमै जान नदिने गम्भीर षड्यन्त्रमा त छैन ? सुरक्षाको जिम्मेवारीबाट भागेको त होइन भन्ने गम्भीर प्रश्न पनि सरकारको मौनताले नै उब्जाइरहेको छ । 

हामी देशभर भइरहेको विस्फोट र एम्बुस थाप्ने कामलाई कडाइका साथ नियन्त्रणमा लिन र शान्ति सुरक्षाको वातावरण मजबुत बनाउन सरकारको पुनः गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । सुरक्षा अवस्था मजवुत बनाई शान्तिपूर्ण वातावरणमा चुनावी प्रचार–प्रसार र मतदान हुने अवस्था सिर्जना गर्न सरकारलाई कडाइका साथ निर्देशन दिन हामी निर्वाचन आयोगको समेत गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । देशभर भइरहेको विस्फोटका घटनाप्रति सरकारको मौनता र निर्वाचन आचारसंहिता उल्लंघनको घटनालाई लिएर केन्द्रीय निर्वाचन परिचालन कमिटीको तर्फबाट आजै निर्वाचन आयोगका पदाधिकारीको गम्भीर ध्यानाकर्षण गराइने छ । आयोगको ध्यानाकर्षणपछि आज दिउँसो ४ बजे केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी समेत गराउन चाहन्छौं ।
 
विष्णु रिमाल
प्रवक्ता

नवयुग

ठेगाना