श्रृंखलाबद्ध रुपमा देशभर भइरहेको हिंसात्मक आक्रमण र विस्फोटको घटना प्रती खेद व्यक्त

प्रेस नोट
 
श्रृंखलाबद्ध रुपमा देशभर भइरहेको हिंसात्मक आक्रमण र विस्फोटको घटना नियन्त्रण गर्नुको साटो सरकार निरीह हुँदै गइरहेको हाम्रो पार्टीले महसुस गरिरहेको छ । गए राती कैलाली–२ प्रदेशसभा १ का हाम्रा उमेद्वार कमरेड रतनबहादुर थापाको सवारीलाई आगजनी गरी ध्वस्त पारिएको छ । यस घटनाप्रति हाम्रो पार्टी खेद व्यक्त गर्दछ । र, फेरि एकचोटी शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने दायित्व निर्वाह गर्न सरकारको ध्यानाकर्षण गराउँछ । 

तर दुःखको कुरा सरकार शान्ति सुरक्षा कायम गर्ने दायित्वबाट पूर्णतः विमुखमात्र बनिरहेको छैन, त्यसले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै अनाधिकृत रुपमा राज्यकोषको दुरुपयोगलाई निरन्तरता दिइरहेको छ । आजको सञ्चारमाध्यममा आएका जानकारी अनुसार पनि निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले नेपाली कांगे्रसका कार्यकर्ताहरुलाई प्रधानमन्त्री स्वयम्को निर्देशनमा गृहमन्त्रालय तथा प्रधानमन्त्री राहत कोषबाट १६ करोडभन्दा बढी रकम बाँडिएको छ । निजामति तथा प्रहरी प्रशासनको संरचनामा अनावश्यक भद्रगोल सिर्जना गरिंदैछ । हामीलाई जानकारी भएअनुसार नेपाल प्रहरीमा चारजना प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासनलाई अनावश्यक रुपमा भत्काउन खोजिदैछ । सरकारको यस्ता कामप्रति नेकपा (एमाले) कडा शब्दमा विरोध गर्दछ । आचारसंहिताविपरीत राज्यकोष दुरुपयोग गर्ने र प्रशासनिक संयन्त्रलाई भताभुङ्ग पार्ने कार्य तत्काल रोक्न माग गर्दछ । 

आज बिहान बसेको नेकपा (एमाले) केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले सरकारको यस्ता कदमप्रति आपत्ति जनाउँदै कडाइका साथ हस्तक्षेप गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेकोले चुनावी सरकारको हैसियत र सीमाभित्र रही काम गर्न सरकारलाई सचेत गराउनसमेत निर्वाचन आयोगसमक्ष माग गर्दछ । 
 
विष्णु रिमाल
प्रवक्ता 
केन्द्रीय निर्वाचन परिचालन कमिटी

नवयुग

ठेगाना