निर्वाचनसँगै मुलुकमा जारी राजनीतिक संक्रमणकाल अन्त्य हुने र राष्ट्रिय एकता, स्थिरता, विकास तथा समृद्धिको नयाँ युग सुरु हुने पार्टीको अपेक्षा

स्थानीय तहको निर्वाचनको तुलनामा कम प्रतिशत मतदान भए पनि प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ ।  सुनसरी, सर्लाही, भक्तपुरलगायतका जिल्लामा निर्वाचन प्रक्रियालाई अवरोध गर्ने केही घटना भए । स्याङ्जा र डोटीका केही स्थानमा मतदान केन्द्र नियन्त्रणमा लिने दुःखद् घटनासमेत भयो भने अर्घाखाँचीको एउटा मतदान केन्द्रको मतदान प्रक्रिया रद्द हुने घटना समेत भएको छ ।

दैलेखमा गम्भीर घाइते हुने गरी कृष्णराज बुढा र उत्तमकुमार शाहीमाथि आक्रमण गरिएको छ भने प्रमको गृहजिल्ला डडेल्धुरामा एमाले कार्यकर्तामाथि झुट्टा मुद्दा लगाउने र हतोत्साहित गर्ने कार्य भएको छ । मतदान कार्य सम्पन्न भएलगत्तै हाम्रो पार्टीका कार्यकर्तामाथि सत्ताधारी दलका कार्यकर्ताद्वारा दाङलगायतका विभिन्न जिल्लामा भएका आक्रमणका घटनाप्रति खेद व्यक्त गर्दछ ।

यी सब घटना हुँदाहुँदै पनि संविधानसभाद्वारा संविधान जारी भएपछिको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो आम निर्वाचन सम्पन्न भएको छ । राजनीतिक नेतृत्व गर्नुपर्ने सरकारको अस्तव्यस्त कार्यशैली र अनिच्छाबीच यो निर्वाचन सम्पन्न भएकोमा हाम्रो पार्टी सन्तोष व्यक्त गर्दै निर्वाचनमा उत्साहका साथ संलग्न हुने आम मतदाताहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ । 

निर्वाचन प्रक्रियामा सक्रियतापूर्वक संलग्न राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दछ । निर्वाचनको समाचार सम्पे्रषणमा महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मीहरूप्रति धन्यवाद व्यक्त गर्दछ । 

यस निर्वाचनसँगै मुलुकमा जारी राजनीतिक संक्रमणकाल अन्त्य हुने र राष्ट्रिय एकता, स्थिरता, विकास तथा समृद्धिको नयाँ युग सुरु हुने हाम्रो पार्टी अपेक्षा गर्दछ । 

नवयुग

ठेगाना