बाढी पहिरो पीडितप्रति गहिरो सहानुभूति

काठमाडौँ, २ असार । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले मेलम्ची लगायत देशका विभिन्न भागमा बाढी पहिरोमा ज्यान गुमाउनेहरूप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। उहाँले जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ -


२ असार, २०७८

प्रेस वक्तव्य

केही दिनदेखिको अविरल वर्षाले गर्दा आएको बाढी पहिरो र डुबानमा परी देशका विभिन्न भूभागमा जनधनको ठूलो क्षति भएको छ । बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), गोरखा, लमजुङ लगायत जिल्लाहरु बढी प्रभावित भएका छन् । कतिपयको ज्यान गएको छ भने कैयौं बेपत्ता हुनुभएको छ । सयौं परिवार घरबारबिहीन हुनुपरेको छ । 

नेकपा (एमाले) प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । वेपत्ताहरुको सकुशल उद्धार हुन सकोस् भन्ने कामना गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ र घरबारबिहीनहरुको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गर्दछ ।

मनसुनको सुरुवातमै आएको यस स्तरको प्राकृतिक विपत्तिले हामी सबैलाई निकै चिन्तित तुल्याएको छ ।  

नेकपा (एमाले) तत्काल उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अगाडि बढाउन, मृतकका परिवारहरुका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्दछ । भर्खरै सरकारले विपद् प्रतिकार्ययोजना पारित गर्दै सबै मन्त्रालयलाई प्राकृतिक विपत्तिका विरुद्ध परिचालित गर्ने निर्णय गरेको छ । पारित कार्ययोजना प्रभावकारी रुपमा कार्यान्वयन हुनु आवश्यक छ । 

ज्यान जोखिममा राखी उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरुको हामी उच्च प्रशंसा गर्दछौं । 

नेकपा (एमाले) प्राकृतिक विपत्तिको यस घडीमा स्वयंसेवी भावनाका साथ उद्धार र राहत कार्यमा सम्पूर्ण रुपमा परिचालित हुन सबै जनप्रतिनिधिहरु, पार्टी कमिटी र युवा पङ्क्तिलाई आह्वान गर्दछ  ।

 

प्रदीप ज्ञवाली
प्रवक्ता

 

नवयुग

ठेगाना