नेकपा (एमाले) स्थायी कमिटीको बैठकबाट पारित विशेष प्रस्ताव

पार्टी निर्माण, विस्तार र  एकीकरण नेकपा (एमाले) को मूलभूत विशेषता हो । पार्टीमा कुनै पनि समस्या सिर्जना हुँदा अन्तरपार्टी छलफलका माध्यमबाट समाधान खोज्ने र अझ उन्नत स्तरको एकता कायम गर्दै अगाडि बढ्ने यस पार्टीले विकास गरेको संस्कृति हो । विभिन्न समूहमा छरिएका वामपन्थीहरुलाई एकताको प्रवाहमा समेट्दै अगाडि बढ्ने सिलसिलामा नेकपा (एमाले) मुलुककै सबैभन्दा ठूलो राजनीतिक पार्टी, कम्युनिष्ट आन्दोलनको मूलप्रवाह र लोकतान्त्रिक आन्दोलनकै नेतृत्वदायी शक्ति बन्न पुगेको हो । संविधानको रक्षा र विकास, लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकताको सम्बद्र्धन, राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समृद्धिको प्रत्याभूति तथा समाजवादको आधारभूमि निर्माण जस्ता मुलुकका सर्वाधिक महत्वपूर्ण कार्यभार आज यसै पार्टीको काँधमा छन् ।वैचारिकरुपमा सुस्पष्ट र सङ्कल्पवद्ध, सङ्गठनात्मक रुपमा एकतावद्धतथा कमरेडली समभावमा आवद्ध नेकपा (एमाले) बाट मात्रै यी ऐतिहासिक अभिभाराहरु पूरा हुन संभव छ ।

तर विगत केही समय यता पार्टीभित्र देखा परेका समस्या, कटुता, अन्तरविरोध र अस्वस्थताले पार्टीका नेता–कार्यकर्ता, सदस्यहरु र यसप्रति भरोसा राख्ने आमजनसमुदायलाई चिन्तित तुल्याएको छ । परिवर्तनको संवाहक र जनतामा सर्वाधिक लोकप्रिय शक्ति विभाजित हुँदा राजनीतिक स्थायित्व र लोकतन्त्र, समृद्धि एवम् सामाजिक न्यायको भविष्यमै सिर्जना हुन सक्ने दुष्परिणामको आशङ्काले सिङ्गो राष्ट्र गंभीर बनेको छ ।

नेकपा (एमाले) को एकता यस पार्टीका लाखौं सदस्य र समर्थक–शुभचिन्तकहरुको मात्रै होइन, आम जनता र देशकै चाहना हो । प्रतिक्रियावादी, पश्चगामीहरु र अस्थिरताका संवाहकहरुको चाहना भने यसको विभाजन र विखण्डन हो । यसका लागि उनीहरुका तर्फबाट भइरहेका प्रयाशहरु सबैका सामु स्पष्ट छन् ।

जीवन्त र लोकतान्त्रिक पार्टीभित्र समस्याहरु उत्पन्न हुनु, समस्यालाई हेर्ने दृष्टिकोणमा भिन्नता हुनु र कतिपय प्रश्नमा असहमति पैदा हुनु स्वाभाविकै हो । तर समस्याको विकल्प विग्रह होइन । त्यसरी नै, भिन्नताको निष्कर्ष अन्तरद्वन्द्व होइन । असहमतिको समाधान विभाजन त झन् हुँदै होइन ।  पार्टीको आन्तरिक जीवनमा उच्च लोकतान्त्रिक अभ्यास गर्दै आएको नेकपा (एमाले) भित्र समस्याको सकारात्मक समाधान खोज्ने, भिन्नतालाई उन्नत स्तरको एकतामा रुपान्तरित गर्ने र असहमतिहरुलाई स्वस्थ र रचनात्मक वहसका माध्यमबाट उच्च तहको सहमतिमा बदल्न सक्ने भरपर्दो आधार र सामथ्र्य विद्यमान छ । माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शन, समाजवाद निर्माणको साझा सङ्कल्प र देश र जनताप्रतिको अविचलित निष्ठाका जगमा हामीले समाधान गर्न नसक्ने कुनै आन्तरिक समस्याहरु छैनन् ।

तसर्थ, नेकपा (एमाले) बाट विभाजित भएर अलगै पार्टी दर्ता गर्ने प्रयाश गरिरहेका कमरेडहरुलाई हामी आग्रह गर्छौैं– मुलुकका सामु उपस्थित असाधारण संभावना र अकल्पनीय चुनौतीप्रति संवेदनशील हुँदै, पार्टीको काँधमा उपस्थित ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै, असफलता अवश्यंभावी रहेको त्यस्तो गलत, हानीकारक बाटो छाडेर पार्टी एकतामा आवद्ध हुनुहोस्, आफ्नो मूलघरमा फर्किनुहोस् । विभाजनकारी गतिविधि र अलग दल दर्ताको प्रक्रियाबाट अलग भएर पार्टी एकतामा योगदान गर्ने कमरेडहरुलाई पार्टीमा हार्दिक स्वागत गरिने र यस अघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने र , भेदभाव या कार्बाही नहुने पनि स्पष्ट पार्न चाहन्छौं ।

तसर्थ पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई पार्टीको एकता र अग्रगतिका निम्ति आ–आफ्नो स्थानबाट अधिकतम योगदान गर्न तथा असहमति प्रकट गर्दा मर्यादित र संयमित रुपमा प्रस्तुत हुन आह्वान गर्दछौं ।

– २०७८ भदौ ८ गते

नवयुग

ठेगाना