detail-img

काँग्रेसका केही नेताले कार्यकर्तालाई चुनाव चिन्हविहीन बनाइदिएः अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ । झापाबाट सिधै अन्तराट्रिय विमानस्थल अवतरणपछि काठमाडौँको भृकुटी मण्डप आउनु भएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम चुनावी सभालाई सम्वोधन गर्नुभएको छ ।

नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले गठबन्धन अलमलमा परेको बताउनुभयो । अझ गठबन्धनको सबै भन्दा ठूलो दल नेपाली काँग्रेसका केही नेताले कार्यकर्तालाई चुनाव चिन्हविहीन बनाइदिएको बताउनुभयो । अहिलेको गठबन्धनको अवस्थाले सबै भन्दा बढी घाटा काँग्रेसलाई परेको उहाँको ठम्याई थियो । ‘काँग्रेसका कार्यकर्ताले कहाँ भोट हाल्ने भन्ने पनि थाहा हुन्न ।

चितवनमा गए एउटा, पोखरामा अर्को, दमकमा अर्को चिन्हमा हाल भन्छन् नेताहरू,’ उहाँले भन्नुभयो, ‘अझ अस्ति सुन्नुभयो होला,चितवनमा एक जना नेताले मेरो छोरीलाई नजिताए देशलाई दुर्घटनामा गुल्टाउँछु, जितायौ भने म खुसी हुन्छ र अझै १५÷२० वर्ष गठबन्धन लैजान्छु । अनि उनकै सन्तानलाई भोट हाल्नुपर्ने भयो ।’ ओलीले नेपाली काँग्रेसले चुनावमा जाने कुरालाई प्रतिगमन भनेर लोकतन्त्रको परिभाषा फेर्न खोजेको आरोप पनि लगाउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएपछि मात्रै संघीय निर्वाचनमा पनि बहुमतसहितको सरकार बनाउँदा काम गर्न सहज हुने भएकोले यो निर्वाचनमा जित्नै पर्ने बताउनुभयो । उहाँले ऐतिहासिक र पुरातात्विक महत्वका धरोहर, धार्मिक आस्था, परम्परा, संस्कृति र संस्कारसँग जोडिएका कुराको रक्षा एमालेले नै गरेको भन्दै एमालेको पक्षमा मतदाताले मतदान गर्नेमा आशावादी रहेको बताउनुभयो । एमाले सरकारका पालामा धरहरा उठाएको, रानीपोखरी र काष्ठमण्डप पुनःनिर्माण गरेको भन्दै उहाँले इतिहासको संरक्षण र सम्पदाको संरक्षणका लागि पनि काठमाडौँमा एमालेको जित निश्चित हुनुपर्नेमा जोड दिनुभयो ।