detail-img

‘उच्चदरको कर घटाउने र अव्यावहारिक कर हटाउने छौं’

धीरेन चेम्जोङ
नेकपा (एमाले)बाट इलाम नगरपालिकाको मेयरका उम्मेदवार

जब भुुइँमान्छे मुस्कुराउँछन्, समृद्धि भनेकै त्यही हो ।
वैकल्पिक स्रोत खोजेर उच्चदरको कर घटाउने र अव्यावहारिक कर हटाउने योजना छ ।
इलामको माटोले के मागिरहेको छ भन्ने स्पष्ट बुझ्न पाएको छु ।
मैले इलामका लागि निद्रामा सपना देखेको होइन, बिहान उठेपछि देखेको हो । त्यसैले चुनौती सामना गर्ने बलियो हिम्मत छ ।
इलाम नगरपालिकालाई पाँच वर्षपछि ‘आहा !’ भन्नेखालको बनाउने छौं ।==================

यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तर्फबाट मेयरको उम्मेदवार बनेका धीरेन चेम्जोङ इलाम नगरपालिकाबासीका लागि परिचय गराइरहनुपर्ने नाम होइन । बाल्यकालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय भएरमात्र होइन, इलामको पत्रकारितालाई फलाउने, फूलाउनेदेखि यहाँको फुटबललाई हजारौं युवाको ढुकढुकी बनाउने अभियानको अग्रमोर्चामा सधैं धीरेन चेम्जोङकै नाम आउँछ । हक्की र आँटिलो स्वभाव, स्पष्ट बोली र विविध क्षेत्रको नेतृत्वदायी पात्रका रूपमा धीरेन चेम्जोङ प्रायः इलाम नगरबासीको आँखाअगाडि झुल्किरहेको हुन्छ र उहाँको आवाज इलामेका कानमा अक्सर गुुञ्जिरहेकै हुन्छ । विविध पृष्ठभूमिलाई आधार बनाएर उहाँ अहिले इलाम नगरको मेयरको प्रत्यासी हुनुहुन्छ । प्रस्तुत छ, चेम्जोङसँग आउँदो निर्वाचनमा केन्द्रित रहेर गरिएको कुराकानीः
………………………………………..

राजनीति, पत्रकारिता र खेलकुदको पृष्ठभूमिबाट आफूलाई इलाम नगरपालिकाको मेयरमा उम्मेदवारी दिने ठाउँमा पु¥याउनुभयो, तपाईंको उम्मेदवारी चाहीँ किन ?

पहिलो कुरा चाहीँ म एउटा भुइँमान्छे हुँ । म यहीँको माटोसँग खेलेँ । माटोसँगै हुर्किएँ । यहाँका जरा, बुट्टा, खोलानालासँग परिचित भएँ । सबैखाले जातजाति, धर्म, सँस्कृति, परम्परा, सम्प्रदायलगायत सबैखाले मान्छेसँग घुलमिल हुन पाएँ । सबैसँगको सम्बन्ध प्रगाढ बन्यो । सबैले अहिलेसम्म गर्नुभएको माया मेरो उम्मेदवारीको आधार हो । र, इलामको माटोले के मागिरहेको छ भन्ने पनि मैले स्पष्ट बुझ्न पाएको छु । इलाम नगरका सबै ठाउँ पुगेको छु । धेरैजसो घरलाई सेल्टरका रूपमा प्रयोग पनि गरेको छु ।

त्यसैले त्यहाँका समस्या के हुन्, आवश्यकता र अवसर के हन् भन्ने मलाई थाहा छ । २०५४ र २०७४ सालमा इलाम नगरमा हाम्रै पार्टीका नेता महेश बस्नेत नेतृत्वमा रहेको जनप्रतिनिधिको टिमले नगरको एउटा मार्गचित्र कोरेको छ । त्यसबेला नगरमा विकास–निर्माणको जुन मोडालिटी अघि सारिएको छ, त्यसले चाहँदा त विकास हुँदोरहेछ भन्ने मानिसलाई आशा जगाएको छ । म त्यसैलाई निरन्तरता दिन्छु र थप नयाँ अवधारणामा काम गर्छु ।

नगरका सम्भावना उजागर गर्न कस्ता योजना र कार्यक्रम ल्याउनुभएको छ ?

मैले लिखित प्रतिबद्धतापत्रमार्फत् नै आफ्नो र पार्टीको योजना सार्वजनिक गरेको छु । विशेषगरी इलामका चार सम्भावना कृषि–पशुपालन, शिक्षा, स्वास्थ्य र पर्यटन हुन् । यसबाहेक पनि दर्जनौं क्षेत्रमा काम गर्नुपर्नेछ । ‘इलाम नगरपालिका हाम्रो पहिचान, समृद्ध इलामका लागि सूर्य चिह्नमा मतदान’ भन्ने नारासहित इलामको समृद्धिमा सबै पक्षलाई समेटेर हामीले प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छौं । मतदाताको मत राष्ट्रियताको रक्षा, लोकतन्त्रको अभ्यास एवम् इलाम नगरपालिकाको विकास र समृद्धिका लागि होस् भन्ने हाम्रो कामना छ । समग्रमा नगरलाई पाँचवर्षपछि ‘आहा !’ भन्नेखालको बनाउने हो । अबको पाँचवर्षमा समृद्ध इलाम, सुखी इलामबासीको आधार तयार भएको हुनेछ ।

तपाईंले ल्याउनुभएका योजना कार्यान्वयनमा चुनाती चाहीँ छन् कि छैनन् ?

चुनौती नहुने त कुरै भएन । जहाँ नयाँ काम गर्न खोजिन्छ, चुनौती ठडिइहाल्छन् । जब तपाईं सपना देख्नुहुन्छ भने तपाईं ब्युँझिनु पनि हुन्छ । ब्युँझिनु चाहीँ सपना टुट्नु हो । तर, मैले देखेको सपना निद्रामा देखेको होइन, ननिदाएका बेला देखेको हो । त्यसैले आएका चुनौती सामना गर्ने बलियो हिम्मत पनि छ । मैले आजसम्म यो नगरका नागरिकमा जति भिज्न सकेको छु, त्यो नै मेरो चुनौती सामना गर्ने बल हो । प्रत्येकजसो घरको पानी खाएको छु । सबैसँग जोडिएको छु । नागरिकको माग र आवश्यकता प्रायः स्वाभाविक नै हुन्छन् । तिनलाई पूरा गर्न पनि समस्या हुँदैन । तर, नागरिकका आवश्यकता र समस्याको समाधान गर्ने तरिका चाहीँ अलि नपुगेको मलाई लाग्छ । त्यो तरिका पुग्यो भने चुनौती समाधान भइहाल्छन् । आवश्यक परे विज्ञको समेत सहयोग लिएर समस्या समाधानको मोडालिटी बनाइन्छ ।

स्थानीय तह तथा त्यसअन्तर्गतका कतिपय कार्यालय आर्थिक र राजनीतिक हिसाबले पनि आलोचित भइरहेका छन् । विभिन्न किसिमका विकृति देखिनथालेको चर्चा हुन्छ, यसलाई हटाउन कस्तो योजना बनाउनुभएको छ ?

स्थानीय तह भनेको स्थानीय सरकार हो । २०७४ सालमा स्थानीय तह गठन हुँदा त्यो सरकार हिँड्ने स्पष्ट बाटो थिएन । कानुन, विधि, विधान आफैं बनाउनुपर्ने अवस्था थियो । तत्काल त्यो सरकारले आफू हिँड्ने बाटो (कानुन) बनायो । समय धेरै त्यहाँ गयो । त्यति हुँदा पनि इलाम नगरमा विकास–निर्माण सामाजिक सुधारका काम नभएका होइनन् । कतिपय अवस्थामा अनुगमनको कमी हुँदा विकृति देखिएका हुनसक्छन् । अब हामी हिँड्ने बाटो बनेको छ । त्यही बाटो भएर हामी नागरिकको घरदैलोसम्म पुग्न सक्ने भएका छौं । सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति चनाखो भएर अघि बढ्न हामी सधैं चिन्तनशील छौं । अबको कार्यकाल भनेकै धेरैभन्दा धेरै नागरिको आवाज सुन्ने र समस्या समाधानमा केन्द्रित हुनेमा ढुक्क हुन आग्रह छ ।

स्थानीय सरकार सञ्चालन गर्ने एउटा मूल कडी आर्थिक स्रोतको व्यवस्थापन गर्नसक्नु हो । त्यसको ठोस योजना के छ ?

आर्थिक स्रोतको व्यवस्थापन सरकार सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण पाटो हो । सरकार सञ्चालनको मेरुदण्ड नै हो । स्रोत नहुँदा चल्न सकिँदैन । स्थानीय सरकार सञ्चालनका लागि केन्द्रबाट आउने स्रोतको मात्रै भर पर्ने अवस्था छैन । हामीले कुनै न कुनै सिर्जनशील काम गर्नेपर्ने हुन्छ । नगरको आर्थिक स्रोतका प्रकार अध्ययन गर्नेछौं । जुन आवश्यक छ, त्यसको जिम्मेवारीमात्र नागरिकलाई दिनेछौं । नागरिकलाई करको भारबाट बचाउन वैकल्पिक स्रोत व्यवस्थापन गर्नु आवश्यक छ । वैकल्पिक स्रोत खोजेर भएपनि नागरिकलाई भारी करबाट चाहीँ मुक्ति दिनु मेरो कर्तव्य हो । अहिलेको आवश्यकता पनि हो । करको दर नभई दायरा फराकिलो बनाउन सकिन्छ । तर, म फेरि भन्छु, करको वैकल्पिक स्रोत खोजेर भएपनि उच्चदरको कर घटाउने र अनावश्यक कर हटाउने योजना चाहीँ छ ।

२०७४ सालको स्थानीय तह निर्वाचन हुँदा ‘गाउँ–गाउँमा सिंहदरबार’ आएको चर्चा धेरै चल्यो । नेपालको संविधान (२०७२) को मर्मअनुसारको काम र ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रा बितेको पाँचवर्षमा स्थानीय तहले कति प्रतिशत पार गरेको ठान्नुहुन्छ ?

संघीयताको कारणले अधिकार विकेन्द्रित भएको साँचो हो । सिंहदरबार गाउँ आएको पनि हो । नागरिकले गाउँमै, टोलमै र घर–घरमै अधिकार पाउने भएकाले प्रतीकात्मकरूपमा सिंहदरबार गाउँ त आएकै हो । तर, सिंहदरबारलाई सिंहदबारका रूपमा बनाउन पनि त स्थानीय तहले काम गर्न बाँकी नै थियो नि ! कानुन, प्रक्रिया, पद्धति निर्माण गर्दागर्दै धेरै समय बितेको छ । यसबीचमा ‘दरबार’ चाहीँ उतै रह्यो, ‘सिंह’ मात्रै गाउँ आए भन्ने आलोचना पनि भयो । अबको अवस्था त्यस्तो छैन, अधिकार स्थापित गर्ने बाटो बनेको छ । हामी नागरिकका अधिकार नागरिकसम्म नै अवस्य पु¥याउने छौं । यो मेरो प्रतिबद्धता हो ।

समृद्ध नेपाल सुखी नेपालीको यात्रा उपलब्धिलाई मैले प्रतिशतमा ढालेर विश्लेषण गर्नु अन्याय हुन्छ । समग्रमा विकास, परिवर्तन भएको छ । असीमित आवश्यकतालाई सीमित स्रोत–साधनले धान्नु चुनौतीपूर्ण छ । तर, व्यवस्थापनका सही तरिका अपनाइयो भने समाधान हुन्छन् । तत्काल परिवर्तन, रुपान्तरणको आमअपेक्षा स्वभाविक पनि हो । अहिले विश्वव्यापीकरणले संसारका परिर्वतन हामी एकैछिनमा देख्न, सुन्न र अनुभूत गर्न सक्छौं । यो सन्दर्भमा नेपालको, इलामको माटोसँग मिल्दो परिवर्तनयात्रालाई सुहाउँदो गति दिनलाई केहीले छेक्छजस्तो चाहिँ लाग्दैन । सर्वसाधारणका कतिपय काम प्रत्यक्ष र वास्तविक रूपमा सत्य भएको आँखाले देख्दादेख्दै पनि कागजले अड्काउने समस्याले सेवाग्राही आजित भएको देख्छु म । कमसेकम पनि त्यस्ता सेवाग्राहीलाई न्याय दिनु मेरो प्राथमिकता हुनेछ । जब भुइँमान्छे मुस्कुराउँछन्, हाँस्छन् र खुुसी हुन्छन् । समृद्धि भनेको त्यही हो । समृद्धि त्यहीँबाट उदाउने हो ।

को हो इलामको मेयरका उम्मेदवार धीरेन चेम्जोङ ?

आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तर्फबाट मेयरको उम्मेदवार हुनुहुन्छ धीरेन चेम्जोङ । पत्रकारिता, खेलकुदलगायत विविध सामाजिक क्षेत्रमा आफ्नो योग्यता र क्षमता प्रदर्शन गरी कहलिएका चेम्जोङ पार्टीभित्र र बाहिर पनि सशक्त र ऊर्जाशील नेताका रूपमा चिनिनुहुन्छ ।

इलाम नगरपालिकाको साविक वडा २, फूलगाछीमा जन्मिएका धीरेन चेम्जोङको बाल्यकाल पढाई, राजनीति र खेलमा बित्यो । उहाँ १३ वर्षकै उमेरमा नेकपा (माले)को रेडगार्ड (बाल सैन्य दस्ता)मा आबद्ध हुनुभयो । पार्टीका भूमिगत नेताहरूलाई सरकारी दमनबाट बचाउन त्यतिबेला बाल दस्ता प्रयोग गरिन्थ्यो । त्यतिबेलैदेखि नै उहाँको संगत कम्युनिस्टका भूमिगत नेताहरूसँग भयो । यहीक्रममा १४ वर्षको उमेरमा उहाँलाई प्रहरीले पक्रियो । बालक भएका कारण प्रहरीले धेरै समय नियन्त्रणमा राख्न चाहीँ सकेन ।

केहीपछि उहाँ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध हुनुभयो । त्यतिबेला यस्तो संगठनमा आबद्ध हुनुलाई सरकारले ‘अराष्ट्रिय तत्व’ भन्थ्यो । तर, उहाँले हार खानुभएन । । न्यायको स्वर बुलन्द गर्न उहाँ निरन्तर लागिरहनुभयोे । क्याम्पसमा पनि अनेरास्ववियुका नेता–कार्यकर्तासँग भेट र सहकार्य भयो । इलामको बजारमा जन्मिएर अनेरास्ववियुमा लाग्दा घरमा बास पाउनसमेत सहज थिएन । बारम्बार घरी–घरी जेल–नेल र घरी–घरी सर्वसाधारणका घर पुग्नेक्रम चलिरह्यो ।
सहिद रत्नकुमार बान्तवाको हत्यापछि पार्टी सम्हाल्न जनशक्ति कम हुँदैथियो । त्यहीबेला विद्यार्थीहरूमार्फत् पार्टीलाई जीवन दिन धीरेन, हीरा थापा, छवि खनालहरू नै सक्रिय हुनुहुन्थ्यो । तर, उहाँहरू सबै प्रहरीको ‘वारेन्ट’ सूचीमा हुनुहुन्थ्यो । ‘तर, हामी गाउँले दाजु–भाइ, दिदी–बहिनी भेट्न, उहाँहरूको घर–घर पुग्न छाडेनौं,’ चेम्जोङले भन्नुभयो, ‘जेल प¥यो, निस्कियो, गाउँ कुदिहाल्यो गथ्र्याैं ।’

यहीक्रममा उहाँलाई पार्टीले नै महेन्द्ररत्न बहुमुखी क्याम्पसको जागिरे बनायो । जागिरे बनाउनुको उद्देश्य सरकारी दमनबाट केही सुरक्षित गर्दै पार्टीको काम गर्नका लागि थियो ।

क्याम्पसमा जागिरे रहेकै बेला उहाँ इलामको पत्रकारितामा प्रवेश गर्नुभयोे । सुरुमा दृष्टि साप्ताहिक त्यसपछि जनआस्था साप्ताहिकमा काम गर्नुभयोे । इलाममा पनि सूूत्रधारश्री साप्ताहिक स्थापना गरेर धर्म गौतम, धीरेन चेम्जोङहरूले नै बसालेको जगमा अहिले इलामको पत्रकारिता खुड्किलो चढिरहेको छ । त्यसपछि पनि उहाँसहितको समूहले इलाममा लोकतन्त्र साप्ताहिकलगायत पत्रपत्रिका प्रकाशन ग¥योे । उहाँ त्यसयता नेपाल पत्रकार महासंघ इलाम शाखाको दुई कार्यकाल लगातार सभापति र महासंघको केन्द्रीय सदस्यसमेत हुनुभयो ।

‘२०४६ सालको परिवर्तनपछि शासक, प्रशासकसँग जुध्ने बलियो माध्यम कलम वा पत्रकारिता नै हुन्छ भन्ने भएपछि म पत्रकारितामा होमिएँ,’ उहाँले सुनाउनुभयो, ‘मेरो स्वभाव नै अन्याय, अत्याचार र भुइँमान्छेको पीडा सहन सक्नेखालको छैन । त्यसैले पत्रकारितामा होमिएको थिएँ ।’ त्यतिबेला मिसन पत्रकारिता गरेको र कलमको माध्यमबाट अन्याय–अत्याचारविरुद्ध राज्यद्रोह नै गरेको उहाँ सम्झनुहुन्छ । ‘देशमा पञ्चायती तानाशाह उन्मूलन हुनुुपर्छ र सामन्तवादको प्रतीकका रूपमा रहेको राजसंस्था उखेलेर फाल्नुपर्छ भन्ने ध्येय थियो,’ उहाँले भन्नुभयो, ‘त्यही कामका लागि पत्रकारितालाई माध्यम बनाइएको थियो ।’

साहित्यिक रूपमा पत्रकारिताबाट दबाब सिर्जना गर्न धीरेन चेम्जोङ, डम्बर पहाडी र नरेन्द्रनाथ भट्टराईलगायतले ‘प्रतिज्ञा’ साप्ताहिक पत्रिका निकाल्नुभएको थियो । तर, आर्थिक हिसाबले त्यसले निरन्तरता पाउन सकेन । धीरेनलगायतकै पत्रकारहरूको पहलमा पछि ‘झटारो’का रूमा प्रकाशन भएको सूत्रधारश्री साप्ताहिकलाई परिवर्तनको संवाहकका रूपमा अहिले पनि इलामका पाठकले सम्झिन्छन् । यसमा आफूसहित धर्म गौतम, सोमनाथ सुुसेली, माधव घिमिरे, विजशेखर भट्टराई, आशिष राईलगायतको सहकार्य रहेको चेम्जोङ सम्झनुहुन्छ ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका कारण उहाँले पढाइलाई निरन्तरता दिन सक्नुभएन ।
चेम्जोङ माइभ्याली फुटबल क्लबको अध्यक्ष पनि हुनुहुन्छ । उहाँको जीवनमा फुटबल एक महत्वपूर्ण पाटो भएको छ । अगुवा खेलाडीहरूले प्रतियोगिता जितेर छरेको चकलेट टिप्दै खाँदा बाल्यकालमै उहाँमा फुटबलप्रतिको क्रेज बढ््यो । परिणामस्वरूप, उहाँसहितका खेलाडीको टिम त्यतिबेला चर्चित कमल, महावीर, रणवीर सिल्डहरू आफ्नो पोल्टामा पार्न सफल भयो । चेम्जोङकै अगुवाईमा माइभ्याली फुटबल क्लबले देश र विदेशका चर्चित ए–डिभिजन क्लब सहभागी गराएर लगातार छैटौं संस्करणका प्रतियोगिता सञ्चालन गरेको छ ।

‘टुँडिखेलमा भोगटेको बल खेल्दाखेल्दै म फुटबल खेलाडी बनेंछु, मेची अञ्चलस्तरका प्रतियोगितामा सहभागी भएर अहिले माइभ्यालीको अध्यक्षसम्म आइपुग्दा हजारौं इलामे खेलप्रेमीसँग जोडिन पाएको छु,’ चेम्जोङले भन्नुभयोे, ‘फुटबलको माध्यमबाट अन्य विधा खेलको पनि समस्या, चुनौती र अवसर थाहा पाउने मौका मिलेको छ । हजारौं युवाको बीचमा आफूलाई उभ्याएर उहाँहरूसँग यात्रा गर्न पाएकामा हर्ष लाग्छ ।’ माइभ्याली क्लब स्थापनाको उद्देश्य चाहिँ जिल्लाका गाउँ–गाउँमा छरिएका खेलाडीको प्रतिभा उजागर गर्ने नै भएको र यसले निरन्तरता पाउने उहाँ सुनाउनुहुन्छ ।

निडर, साहसी र स्पष्टवक्ताका रूपमा चिनिने चेम्जोङले इलाम नगरलाई आफ्नो नेतृत्वमा पाँच वर्षपछि ‘आहा !’ भनेर चिनाउने खालको बनाउने लक्ष्य लिनुभएको छ । भन्नुहुन्छ, ‘इलाम नगरपालिकाका लागि आउँदो पाँच वर्षको मेरो सपना निद्रामा देखेको सपना होइन, बिहान उठेपछि देखेको हो । त्यसैले त्यो सपना पूरा गर्न दृढसंकल्प गर्छु ।’