UML Today

Mukti Samaj Nepal, Lumbini Province Committee organizes grand program on Untouchability Eradication Day

Share

चन्द्रौटा, कपिलवस्तु, २०८२ जेठ — “जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस–२०८२” को अवसरमा मुक्ति समाज नेपाल, लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित पूर्ण बैठक, शुभकामना आदान–प्रदान, बधाई तथा सम्मान कार्यक्रम चन्द्रौटामा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटीका पार्टी सचिव लक्ष्मण आचार्यले जातीय भेदभाव र छुवाछूतको जरा गहिरो रहेको उल्लेख गर्दै सामाजिक रूपान्तरणको आन्दोलनलाई थप सशक्त बनाउन ऐक्यबद्धता, विधिसम्मत संगठन निर्माण र वैचारिक स्पष्टता अपरिहार्य भएको धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “जातीय भेदभाव र छुवाछूत केवल सामाजिक समस्या होइन, यो संविधान र मानव अधिकारको समेत गम्भीर उल्लंघन हो। यसलाई अन्त्य गर्न कानुनलाई अझ बलियो बनाउँदै व्यवहारमा कार्यान्वयन गर्नुपर्नेछ।”

विशिष्ट अतिथि तथा सल्लाहकार परिषद्का केन्द्रीय अध्यक्ष नन्द विश्वकर्माले समाजमा अझै पनि विभेदजन्य घटनाहरू भइरहेकाले सबै नागरिकलाई समानता र सम्मानपूर्वक जीवन यापनको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

कपिलवस्तु जिल्ला पार्टी सचिव सि.बी. गहतराजले विभेद अन्त्यका लागि कानुनी संरचनालाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सरकार र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रममा प्रदेश अध्यक्ष कृष्ण विश्वकर्माले मुक्ति समाजको आन्दोलनले लामो संघर्षपछि हालको अवस्थामा पुगेको उल्लेख गर्दै अब यो आन्दोलनलाई अधिकारको संस्थागत सुनिश्चिततासम्म पुर्‍याउनु पर्ने बेला आएको धारणा व्यक्त गर्नुभयो। साथै, संगठन विस्तारसँगै सामाजिक चेतनाको अभियानलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा हालै सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित १९ जना केन्द्रीय सदस्यहरू, सल्लाहकार परिषद्का अध्यक्ष–उपाध्यक्ष, निर्वाचन आयोग, लेखा आयोग तथा अनुशासन आयोगका ९ जना सदस्यहरू, साथै ६ जिल्ला अध्यक्षहरूलाई बधाई तथा सम्मान गरिएको थियो।

त्यसैगरी, प्रदेश कमिटीमा १० जना नेताहरूलाई मनोनयन गरिएको छ। मनोनित नेताहरूमा रुपन्देहीबाट दिपेन्द्र विश्वकर्मा र हेम विश्वकर्मा, कपिलवस्तुबाट कृष्ण सुनार, अर्घाखाँचीबाट अनिता सुनार र कृष्ण सुनार, प्युठानबाट रेखा परियार र लालबहादुर सुनार, दाङबाट पुलबहादुर गोतामे, बर्दियाबाट भक्तबहादुर विकलगायत रहेका छन्।

बैठकले आगामी कार्तिक मसान्तभित्र रुपन्देहीमा दोस्रो प्रदेश सम्मेलन तथा कार्तिक महिनाभित्र सबै जिल्ला सम्मेलनहरू सम्पन्न गर्ने निर्णय पनि गरेको छ।

कार्यक्रममा हरिश्चन्द्र विश्वकर्मा, तेजप्रसाद विश्वकर्मा, निर्मला विश्वकर्मालगायत नेताहरूले पनि मन्तव्य राख्दै सामाजिक समानता र संगठनात्मक प्रतिबद्धताको विषयमा प्रकाश पार्नुभएको थियो।