२२ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी जनसंगठन समन्वय संयन्त्रको यही साउन १० गते बसेको बैठकले सबै जनसंगठनका बैठक, भेला, प्रशिक्षण र समय पुगेका जनसंगठनका अधिवेशन गर्ने लगायत जनसंगठनहरुलाई परिचालन गर्ने महत्वपूर्ण निर्णयहरु गरेको छ ।
बैठकमा पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारी र नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले विशेष निर्देशन दिनुभएको थियो ।
प्रदेश कमिटीका सचिव एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक धनञ्जय दवाडीले अध्यक्षता गर्नुभएको बैठकमा प्रदेश कमिटीका उपाध्यक्ष मीनप्रसाद गुरुङको पनि उपस्थिति रहेको थियो ।
बैठकले गरेका निर्णय र कार्ययोजनाहरु यस प्रकार छन्–सबै जनसंगठनहरुले प्रदेश कमिटी र जिल्ला कमिटीका बैठकहरु भदौ मसान्तसम्म सम्पन्न गरिसक्ने, मङ्सिरभित्र प्रदेशस्तरीय प्रशिक्षण भेलाको आयोजना गर्ने, सो भेला अघि सबै जिल्ला भेला सम्पन्न गर्ने, पार्टी स्कूल सञ्चालन गर्नुपर्ने र स्कूल वा प्रशिक्षण आयोजना गर्नु अघि प्रदेश कमिटी पार्टी स्कूल विभागको समन्वय र सहजीकरणमा प्रशिक्षणका विषय र प्रशिक्षक तय गर्ने, समयावधि पूरा भएका जनसंगठनहरुका अधिवेशनहरु आयोजना गर्ने र सबै जनसंगठनहरुले आफ्नो तहको अधिवेशनपूर्व अनिवार्यरुपमा लेखा परीक्षण गराउनुपर्ने ।
सिन्धुलीमा प्रशिक्षण
यसैगरी, सिन्धुलीमा जनसंठनका समन्वय संयन्त्रको आयोजनामा जनसंगठनको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख विशाल भट्टराईको आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रदीप कटवाल, भोलानाथ पोखरेल र बिषमलाल अधिकारी दनुवारले शुभकामना दिनुभएको थियो ।
नेकपा (एमाले)का जिल्ला अध्यक्ष तथा जनसंगठन समन्वय प्रमुख महेन्द्र श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा बागमती प्रदेश जनसंगठन प्रमुख रमेश आचार्यले पार्टीसँगको जनसंगठनको अन्तरसम्बन्ध र मोहन पोखरेलले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धमा प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले बिषयगत छलफलमा आफ्नो कुरा राख्नुभएको थियो ।
अनौपचारिक श्रमिकहरुको न्यायिक रुपान्तरणबारे सामाजिक संवाद
काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (नेपाल आवध्द परिषद) आइटियुसी न्याकले अनौपचारिक श्रमिकहरुको न्यायिक रुपान्तरण शीर्षकमा साउन २० गते सामाजिक सम्वाद कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) तथा आईटीयुसी–न्याकका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको हक, अधिकार र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि श्रमपक्षीय सामाजिक संवाद अपरिहार्य रहेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय श्रम संगठनका मापदण्ड अनुसार सरकार, रोजगारदाता र श्रमिकबीचको त्रिपक्षीय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै सामाजिक संवादले श्रमिकमैत्री नीति निर्माण, श्रम सम्बन्ध सुदृढीकरण तथा न्यायपूर्ण रूपान्तरणलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो ।
न्यायपूर्ण रूपान्तरणलाई व्यवहारमा कार्यान्वयन गर्न राज्यका नीति, कानुन र कार्यान्वयन प्रक्रियामा समयानुकूल सुधार आवश्यक रहेको उल्लेख गर्दै सरकार, रोजगारदाता र श्रमिकबीच निरन्तर सहकार्य हुनुपर्ने धारणा राख्नु हुंदै अध्यक्ष श्रेष्ठले महिला र युवाकेन्द्रित कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
जिफन्ट उपाध्यक्ष तथा आईटीयुसी–न्याकका सल्लाहकार विदुर कार्कीले सञ्चालन गर्नु भएको कार्यक्रममा आइएलओ नेपालका प्रतिनिधि सोलोमन राजबंशीले ‘न्यायपूर्ण रूपान्तरण र अनौपचारिक क्षेत्रका श्रमिकका चुनौतीहरू’बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवर, अण्टुफका वरिष्ठ उपाध्यक्ष धन बहादुर वि।क, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौला, ट्रेकिङ व्यवसायी संघका अध्यक्ष सागर पाण्डे, होटल व्यवसायी महासंघ बागमतीका महासचिव माधव दुवाडी, नेपाल निर्माण व्यवसायी महासंघका कार्यकारी अधिकृत राजेश गौतम लगायतका सहभागिहरूले न्यायपूर्ण रूपान्तरणको प्रक्रियामा अनौपचारिक क्षेत्रका श्रमिकको आवाजलाई नीति निर्माण र कार्यान्वयनमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
रिटर्नी फेडेरेशनको बागमती भेला
यसैगरी, रिटर्नी फेडेरेशन नेपालको बागमती प्रदेशको भेला सम्पन्न भएको छ ।
भेलामा फेडेरेशनका अध्यक्ष विनोद भट्टराई, जनसंगठन समन्वय संयन्त्रका प्रमुख विशाल भट्टराई , फेडेरेशनका इन्चार्ज शान्ता चौधरी, नेकपा (एमाले) राजधानी प्रदेश अध्यक्ष नारायण सिलवाल ,जनसंगठनका बागमती इन्चार्ज रमेश आचार्य, जनसंगठनका राजधानी इन्चार्ज मणिराम फुयाल, प्रदेश सदस्य परशु बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
