-आज संस्थापक महासचिव पुष्पलालको ४८औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-राजधानीमा ‘संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता प्रमुख दलहरुकोे भूमिका र दायित्व’ विषयक प्रवचन कार्यक्रम
७ साउन (२०८३), काठमाडौँ । आज साउन ७ गते, नेपालको बामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस ।
उहाँप्रति उच्च सम्मान प्रकट गर्दै देशभर विविध कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाइँदै छ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ सालमा भारतको कोलकातामा पुष्पलाल, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्य गरी पाँचजना मिलेर गर्नुभएको थियो ।
कम्युनिष्ट घोषणापत्र पहिलो पटक नेपाली भाषामा अनुवाद पनि नेकपाका संस्थापक महासचिव पुष्पलालले गर्नुभएको थियो ।
पुष्पलाल नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलन गर्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्थ्यो ।
विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालको २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संस्थापक महासचिव पुष्पलालको ४८औं स्मृति दिवसका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ– कमरेड पुष्पलाल सङ्घर्ष, समर्पण र धैर्यताका अद्वितीय पर्याय हुनुहुन्थ्यो । ‘नेता होइन, नीति प्रधान हुनुपर्छ’ भन्ने मान्यतामा अडिग रहनुभएका उहाँ नेपाली राजनीतिमा तीन–स (सिद्धान्त, सङ्गठन र सङ्घर्ष) का सिद्धान्तकार हुनुहुन्छ ।
राजनीतिमा व्यक्तिवाद हावी भइरहेको वर्तमान परिवेशमा विचार, सिद्धान्त र निष्ठामा जोड दिने संस्थापक महासचिव पुष्पलालका कालजयी योगदानहरू हामी सबैका लागि सदा स्मरणीय र प्रेरणादायी रहिरहनेछन् ।
संस्थापक महासचिव पुष्पलालको ४८औं स्मृति दिवसका अवसरमा आज काठमाडौंमा नेकपा (एमाले) राजधानी प्रदेश कमिटीको आयोजनामा संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता प्रमुख दलहरुकोे भूमिका र दायित्व विषयक प्रवचन कार्यक्रम हुँदै छ ।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसाल, नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ, संविधानविद्हरू राधेश्याम अधिकारी र टीकाराम भट्टराई वक्ताका रुपमा रहनुहुने कार्यक्रम छ ।
पुष्पलाल सङ्घर्ष, समर्पण र धैर्यताका अद्वितीय पर्यायः महासचिव पोखरेल
Share
