७ साउन (२०८३), काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको सहकार्य नै नेपालको राजनीतिक परिवर्तनको मुख्य आधार भएको बताउनुभएको छ ।
नेपालका बामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलाल र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपालको सामाजिक तथा राजनीतिक रूपान्तरणमा दुबै नेताले अतुलनीय योगदान पुर्याएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले पुष्पलाललाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव मात्र नभई इतिहासका नयाँ व्याख्याता र राजनीतिक साहित्यका प्रखर विश्लेषकका रूपमा स्मरण गर्नुभएको छ । पुष्पलालले राजनीतिक आन्दोलनलाई मजदुर, किसान तथा आम जनताको जीवनसँग जोड्ने काम गरेको उल्लेख गर्दै शहीद गङ्गालाल श्रेष्ठबाट प्राप्त प्रेरणाले पुष्पलालले जीवनभर परिवर्तनका लागि सङ्घर्ष गर्नुभएको बताउनुभएको छ ।
त्यसैगरी, बीपी कोइरालालाई बहुआयामिक तथा नेपाली राजनीतिको शिखर व्यक्तित्वका रूपमा स्मरण गर्दै अध्यक्ष ओलीले दुबै नेताले आ–आफ्नो विचारधारा र भूमिकामार्फत मुलुकको रूपान्तरणमा ऐतिहासिक योगदान पुर्याएको बताउनुभएको छ । अध्यक्ष ओलीले दुबै शीर्ष नेताका आदर्श र कार्यबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरू एक हुनुपर्ने पुष्पलालको नीति सुरुमा स्वीकार नभए पनि अन्ततः २०४६ सालको जनआन्दोलनको सफलताको आधार त्यही सहकार्य बनेको अध्यक्ष ओलीले स्मरण गर्नुभएको छ ।
‘अहिले आन्दोलनले केही धक्का महसुस गरे पनि अग्रज नेताहरूको दीर्घदृष्टि, दूरदर्शिता र दृढताबाट प्रेरणा लिएर आन्दोलनलाई फेरि सशक्त रूपमा अघि बढाउन सकिन्छ’, सन्देशमा अध्यक्ष ओलीले भन्नुभएको छ– बीपी कोइरालाको जेल जीवन र पुष्पलालको निर्वासनकाल नेपाली राजनीतिका लागि सधैँ प्रेरणाको स्रोत बनेर रहनेछन् ।
‘नेपालको सामाजिक तथा राजनीतिक रूपान्तरणमा पुष्पलाल र बीपी कोइरालाको योगदान अतुलनीय’
Share
