नेकपा (एमाले) :
गौरवशाली इतिहास, सही नेतृत्व
सामन्तवादको अन्त्य, लोकतन्त्र र नागरिक अधिकारको स्थापना, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा, न्याय, समानता, समृद्धि एवं समाजवाद स्थापनाको ऐतिहासिक अभिभारा बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । सात दशकभन्दा लामो यस अवधिमा हाम्रो पार्टीले राणाशासन, पञ्चायती तानाशाही र निरङ्कुश राजतन्त्रलगायत सबैखाले अधिनायकवादी सत्ताका विरुद्ध निर्णायक सङ्घर्षको नेतृत्व गरेको छ । श्रमजीवी वर्गका हितमा दृढतापूर्वक उभिँदै अधिकार, न्याय, समानता र जनताको समृद्धिका लागि अग्रपङ्क्तिमा रहेर लडेको छ । सबैखाले बाह्य हस्तक्षेप र प्रभुत्वको विरोध गर्दै राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानको प्रतिरक्षा गरेको छ । सङ्घर्षका क्रममा पार्टीका हजारौँ नेता र कार्यकर्ताहरूले शहादत हासिल गर्नुभएको छ, निरङ्कुश सत्ताबाट अनेकौँ प्रताडना, यन्त्रणा र दमन खेप्नु भएको छ । देशभक्ति, लोकतन्त्र, विकास र जनसेवा नेकपा (एमाले) का पहिचान बनेका छन् । यसैले नै पार्टी आज मुुलुककै मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित हुनसकेको छ । जनताबाट प्राप्त अटुट विश्वास र आठ दशक लामो बलिदानपूर्ण इतिहासप्रति हामीलाई गर्ब छ ।
तथ्यहरू साक्षी छन्– इतिहासका प्रत्येक मोडमा हाम्रो पार्टीले आमरूपमा उपयुक्त नीति लिएको छ, सही नेतृत्व गरेको छ । २००७ सालको आन्दोलनलाई प्रजातन्त्रको निर्णायक विजयसम्म पुऱ्याउनुपर्छ भन्ने पार्टीको मान्यता थियो । तर शक्तिकेन्द्रहरूको स्वार्थमा आन्दोलनलाई सम्झौतामा टुङ्ग्याइयो । कतिसम्म भने – देशभक्तहरूमाथि दमन गर्दै कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो । फलतः क्रान्ति अधुरै रह्यो र राजा महेन्द्रले त्यसलाई उल्ट्याउने मौका पाए । पार्टीले सुरुदेखि नै निरंकुश राजतन्त्र र पञ्चायती तानाशाहीविरुद्ध संयुक्त जनआन्दोलनको प्रस्ताव गरेको थियो, तर यसलाई बेवास्ता गरिँदा निरङ्कुश व्यवस्था तीस वर्षसम्म लम्बियो । वि.सं २०४६ सालको संयुक्त जनआन्दोलन र त्यसका सफलताले के पुष्टि गरे भने – हाम्रो पार्टीले अगाडि सार्दै आएका मान्यताहरू सही थिए । थप, २०४७ सालको संविधानलाई गतिशील, जनपक्षीय र अग्रगामी बनाउन पार्टीले रचनात्मक भूमिका खेलेको थियो । तर पार्टीले अगाडि सारेका २७ मुख्य विषयहरूलाई बेवास्ता गरिँदा संविधान अकर्मण्य बन्दै गयो र उग्रदक्षिणपन्थी तथा उग्रवामपन्थी प्रहारका सामू संविधान असफल हुन पुग्यो । अनि २०६२/६३ को जनआन्दोलनपछि पार्टीले अगाडि सारेका ती विषयलाई सिङ्गो राष्ट्रले नै आत्मसात गऱ्यो ।
यथास्थितिवादी शक्ति र हिंसात्मक बाटोका पक्षधर अतिवादी शक्तिलाई शान्तिपूर्ण, लोकतान्त्रिक र अग्रगामी बाटोमा ल्याउन नेकपा (एमाले) ले रचनात्मक भूमिका खेलेको छ । संविधानसभाबाट संविधान बन्नै नदिने, मुलुकलाई जातीय–क्षेत्रीय–धार्मिक अतिवादको भुँवरीमा धकेल्ने र संविधान निर्माणजस्तो कुनै पनि मुलुकको सार्वभौम अधिकारमाथि समेत नियन्त्रण गर्नखोज्ने सबैखाले आन्तरिक र बाह्य अवरोधलाई चिर्दै नेपालको संविधान जनताबाटै चुनिएका प्रतिनिधिबाट निर्माण गर्नमा नेकपा (एमाले) को भूमिका निर्णायक र नेतृत्वदायी रह्यो । नाकाबन्दीको सामना गर्दै संविधान रक्षाका लागि पार्टी अग्रमोर्चामा उभियो ।
नेपालको संविधान नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको उच्चतम उपलब्धि हो । यो संविधान आन्दोलन र क्रान्तिमा अभिव्यक्त भएका जनआकाङ्क्षा, अपेक्षा र सपनाहरूको मूर्त रूप हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र सामाजिक न्याय, बहुलता र विविधताको सम्बोधन एवं समाजवादउन्मुख विशेषताजस्ता विषय मूल्यवान् छन् र यिनले हामीलाई समाजवादसम्म पुग्ने शान्तिपूर्ण लोकतान्त्रिक मार्ग प्रदान गरेका छन् । संविधान निर्माण गर्न, यसलाई प्रगतिशील स्वरूप दिन र यसको कार्यान्वयन गर्न खेलेको निर्णायक भूमिकाप्रति हाम्रो पार्टी गौरवबोध गर्दछ । मुलुकको राजनीतिलाई सही दिशाबोध गर्न नेकपा (एमाले) र जनताको बहुदलीय जनवादले वैचारिक मार्गदर्शन गरिरहेको तथ्यसँग यहाँहरू सबै स्पष्ट नै हुनुहुन्छ भन्ने हामीलाई विश्वास छ ।
स्थापनादेखि यताका ७३ वर्षमध्ये आधा समय प्रतिबन्धित अवस्थामा सङ्घर्ष गर्न बाध्य हाम्रो पार्टी बहुदलीय व्यवस्थामा पनि अधिकांश समय प्रतिपक्षी भूमिकामा रहेको छ । करिब सात वर्ष सरकारको नेतृत्व गर्ने अवसर पाएको पार्टीले यस अवसरलाई राष्ट्र र जनताको अधिकतम हितमा सदुपयोग गरेको छ । शासन सञ्चालनमा नयाँ धार र नयाँ मानक निर्माण गर्दै जनमुखी सरकार कस्तो हुन्छ भन्ने दृष्टान्त प्रस्तुत गरेको छ । सामाजिक सुरक्षाको थालनी नेकपा (एमाले) को सरकारले नै गरेको हो । गत २०५१ मा बृद्धभत्ता, २०६१ सालमा सुरक्षित मातृत्व (सुत्केरी भत्ता) तथा सम्पत्तिमा महिलाको स्वामित्व बृद्धि (महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजस्व छुट), २०६६ सालमा बालसंरक्षण अनुदान तथा जनता आवास कार्यक्रम हुँदै अगाडि बढेको सामाजिक सुरक्षाको दायरा र दर दुवै बढेर आज यसले ३२ लाखभन्दा बढी नागरिकलाई समेटेको छ । काठमाडौँ–तराई द्रूतमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राष्ट्रिय राजमार्ग, सुनकोशी–मरिन र भेरी बबई डाइभर्सन, पोखरा र भैरहवा विमानस्थल, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनलगायत ठुला पूर्वाधार योजना सुरु या सम्पन्न गरेर नेकपा (एमाले) ले आफूलाई विकास–निर्माणको अग्रणीका रूपमा स्थापित गरेको छ ।
भूकम्पपछिको पुनर्निर्माणमा अनुशरणीय उदाहरण स्थापित गरेको छ । भूमि आयोगका माध्यमबाट आवासको हक प्रत्याभूत गर्ने कामको थालनी गरेको छ । पार्टीकै निर्णायक पहलमा अधिकारसम्पन्न र स्वायत्त स्थानीय निकायका माध्यमबाट जनताको स्वशासनको सुरुवात भएको छ । हाम्रो पार्टीकै अगुवाइमा राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाइ महिला सहभागिता सुनिश्चित भएको छ । नेकपा (एमाले) कै कार्यकालमा नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि योग्य भएको छ । चीनसँगको व्यापार पारवहन सन्धिपछि हाम्रो देश ‘भुपरिवेष्ठितबाट भुजडित मुलुक’मा परिणत भएको छ । नेपालको नक्सा बदलिएको छ भने बाह्य सम्बन्ध सुमधुर र बलियो बनेको छ । यसरी सामाजिक सुरक्षा र न्याय, भौतिक पूर्वाधार विकास, आर्थिक विकास र बाह्य सम्बन्धका हरेक क्षेत्रमा नेकपा (एमाले) सरकारले नेतृत्वदायी भूमिका खेलेको छ ।
यिनै कारणले नै पार्टीमाथि पटक–पटक घेराबन्दी भएको छ र संविधानको दुरूपयोग गर्दै सरकारलाई पूरा कार्यकाल व्यतित गर्न नदिई बिचैमा विस्थापित गरिएको छ ।
मूलतः नेकपा (एमाले)का तीनवटा सरकारहरू नेपाली जनताले सधैँभरि सम्झिइरहने छन् ।
पहिलो, २०५१ सालमा गठित सरकारले नीतिगतरूपमा नयाँ मोड दियो (पोलिसी डिपार्चर गऱ्यो) ।
दोस्रो, २०७२ मा गठित सरकारले स्वाधीनता, स्वाभिमान र विकासप्रतिको तिर्खा जगायो ।
तेस्रो, २०७४ मा गठित सरकारले सङ्घीयता कार्यान्वयन र ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई कार्यान्वयनमा ल्यायो ।
एकचालीस महिना : बयासी माइलस्टोन
२०७४ मा गठित हाम्रो सरकार ४१ महिनासम्म शासनरत रह्यो । हाम्रो सरकार संविधानका मार्गदर्शक विषयहरू, निर्देश र परिकल्पनालाई कार्यान्वयन गर्न केन्द्रित रह्यो । यी ४१ महिनामा हामीले ८२ माइलस्टोनहरू (कोसेढुङ्गा) हासिल गरेका छौँ । परिशिष्ट– १ मा उल्लेखित यी माइलस्टोनहरू मुर्छित सपना जगाउने माध्यम हुन् । यी माइलस्टोनहरू आफ्नो ४१ महिने कार्यकालमा गरिएका सयौँ महत्त्वपूर्ण कार्यमध्येका केही उल्लेख्य कार्यक्रमका दृष्टान्त मात्र हुन् । र, ‘इच्छाशक्ति भए जस्तो सुकै प्रतिकूलतामा पनि उपलब्धि हासिल गर्न सकिन्छ’ भन्ने हाम्रो क्षमताका परिचायक पनि हुन् ।
हाम्रो राष्ट्रिय आकाङ्क्षा :
समृद्ध नेपाल, सुखी नेपाली
क्रान्ति वा राजनीतिक परिवर्तनको उद्देश्य आर्थिक–सामाजिक विकास र रूपान्तरणका माध्यमबाट जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु र राष्ट्रलाई समृद्ध बनाउनु हो । नेपालमा भएका ठुला राजनीतिक परिवर्तनहरू आर्थिक–सामाजिक विकास र रूपान्तरणको उद्देश्यमा अघि बढ्न नपाई प्रतिगमनको दुश्चक्रमा परेको तितो यथार्थ हामीसँग छ । गत २०६२/६३ को युगान्तकारी परिवर्तनलाई पनि यथास्थितिको गोलचक्करमा फसाउने काम सत्ताधारी गठबन्धनबाट भइरहेको छ । यथास्थितिवादको दलदलबाट मुलुकलाई माथि उठाउँदै आर्थिक–सामाजिक विकास र रूपान्तरणको दिशामा अघि बढाउन हाम्रो पार्टी प्रतिबद्ध छ ।
जनअधिकारका दृष्टिकोणबाट मात्र होइन, लोकतन्त्रका आधारभूत मूल्य र मान्यताका दृष्टिकोणबाट समेत हाम्रो संविधान उन्नत छ । राम्रो संविधान बनाएर मात्र पुग्दैन त्यसलाई संविधानको मूल्य र मान्यता अनुरूप कार्यान्वयनमा लैजानु पर्ने हुन्छ । हाम्रो पार्टी – संविधानका प्रबन्धहरूलाई परिपूर्ण लोकतन्त्रका रूपमा स्थापित गर्न चाहन्छ । लोकतन्त्रलाई जीवन–पद्धति र जीवन–मूल्यका रूपमा स्थापित गर्न चाहन्छ । लोकतन्त्र जनताले पाँचवर्षमा आफूले चाहने प्रतिनिधि रोज्ने व्यवस्था मात्र होइन, राज्य र जनताका बिचमा अन्योन्याश्रित सम्बन्ध भएको उन्नत प्रकारको शासन प्रणाली हो भन्ने मान्यतालाई स्थापित गर्न चाहन्छ ।
कहिलै कसैबाट पराधीन नभएको हाम्रो देश राजनीतिक अस्थिरताको सिकार हुँदै आएको छ । सातसाल (२००७) को परिवर्तन यता कुनै पनि प्रधानमन्त्रीले पूर्णकाल देशको नेतृत्व गर्ने अवसर पाउन सकेका छैनन् । मुलुकलाई विकास र समृद्धिका दिशामा अघि बढाउन राजनीतिक अस्थिरताको अन्त्य अपरिहार्य छ । विकास र समृद्धिका लागि बलियो राजनीतिक शक्ति, दूरदर्शी नेतृत्व र राजनीतिक स्थायित्व आवश्यक हुन्छ । नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो । यतिबेला नेकपा (एमाले) पार्टी नीति र नेतृत्वका प्रश्नमा स्पष्ट छ । सङगठनात्मक रूपमा सुदृढ र एकताबद्ध छ । मङ्सिर ४ मा हुने निर्वाचनमा पार्टीले घोषणापत्रका माध्यमबाट उपयुक्त नीति मात्रै अघि सारिरहेको छैन, नेतृत्वको प्रश्नलाई समेत जनताका बिचमा प्रस्तुत गरेको छ । हामी पार्टी अध्यक्ष केपी शर्मा ओलीका नेतृत्वमा चुनावी प्रतिस्पर्धा गर्न गइरहेका छौँ । चुनावपछि उहाँलाई मुलुकको प्रधानमन्त्रीका रूपमा स्थापित गर्न चाहन्छाँै । मुलुकलाई राजनीतिक अस्थिरताको दलदलबाट बाहिर निकाल्नका लागि यसो गर्नु अपरिहार्य छ ।
हाम्रो पार्टी विचार र सिद्धान्तका दृष्टिकोणबाट नेपालका राजनीतिक दलहरूमा अग्रणी छ । जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादन भएको सिद्धान्त जनताको बहुदलीय जनवादले हाम्रो समग्र कामलाई मार्गदर्शन गरिरहेको छ । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा हाम्रो पार्टी आर्थिक–सामाजिक विकास र रूपान्तरणका माध्यमबाट सामाजवादको आधार तयार गर्दै समाजवादमा पुग्न चाहन्छ । ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा नै नेपाली विशेषतामा आधारित सामाजवाद निर्माणको बाटो हो । ‘राज्यको समृद्धिका लागि नागरिक र नागरिकको सुखका लागि राज्य’को मान्यतामा आधारित भएर हामी त्यस गन्तव्यमा पुग्न चाहन्छौँ । त्यसैले हामी के भन्न चाहन्छौँ भने – ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा नै हाम्रो पार्टीको स्पष्ट गन्तव्य हो ।
नेपालका राजनीतिक दलहरू लामो समयसम्म राज्यविरुद्धका विद्रोही शक्तिका रूपमा रहनु पऱ्यो । अब नेपालका राजनीतिक दलहरू राज्यका विद्रोही होइनन्, राज्यका निर्माता र नेतृत्वकर्ता हुन् भन्ने विषयलाई स्थापित गर्नु आवश्यक छ । यसका लागि स्वार्थ र सम्झौतामा आधारित दलहरूबाट होइन, नीतिगत रूपमा स्पष्ट र सङ्गठनात्मक रूपमा सुदृढ राजनीतिक दलहरूबाट मात्रै त्यो भूमिका निर्वाह हुन सक्दछ । मङ्सिर ४ को चुनावका माध्यमबाट मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माणको उद्देश्यअनुरूप राजनीतिक ध्रुवीकरण आवश्यक छ । सही नीति र नेतृत्वका माध्यमबाट हाम्रो पार्टी नेपाली जनताको यो ऐतिहासिक आवश्यकता पूरा गर्न चाहन्छ ।
आर्थिक–सामाजिक विकासको बाटो के हो, र गन्तव्य के हो भन्ने प्रश्नका निरूपणविना देश विकास र समृद्धिका बाटोमा अघि बढ्न सम्भव छैन । पाँचदलीय गठबन्धन यस जिम्मेवारीबाट पूर्णतः विमुख छ । गठबन्धनका नाममा नीति र नेतृत्वको पहलकदमी छोडेर जनआकाङ्क्षा पूरा गर्न नसकिने स्पष्ट छ । हाम्रो पार्टी जीवनचक्रमा आधारित सुदृढ सामाजिक सुरक्षासहितको लोककल्याणकारी राज्य निर्माणको पक्षमा छ । मनमोहन अधिकारीको नेतृत्वमा सुरु भएको यस अवधारणालाई पार्टी अध्यक्ष प्रधानमन्त्री भएका समयमा एउटा नमुना (मोडेल) का रूपमा विस्तार गर्ने प्रयास भएको थियो । हामी त्यसलाई अझै सुदृढ र व्यवस्थित गर्न चाहन्छौँ । नागरिक शारीरिक मानसिक रूपमा सबल र सक्षम भएको अवस्थामा राष्ट्रको विकास र समृद्धिमा योगदान गर्ने र नागरिकलाई सुरक्षा र संरक्षणको आवश्यक पर्ने अवस्थामा राज्यले त्यो भूमिका खेल्ने लोककल्याणकारी राज्य निर्माणका पक्षमा हाम्रो पार्टी रहेको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ आर्थिक–सामाजिक विकासको एक विहङ्गम अवधारणा हो । जनताको बहुदलीय जनवादले आत्मसात् गरेका उन्नत लोकतान्त्रिक मूल्यपद्धतिका माध्यमबाट हामी त्यसलाई हासिल गर्न चाहन्छौँ । यस अवधारणा अन्तर्गत नागरिकहरू पूर्णरूपमा सक्षम हुनेछन्, र तिनले सामाजिक मूल्यमा आधारित नागरिक स्वतन्त्रताको पूर्ण प्रयोग गर्नेछन् । आफ्नो योग्यता र अनुभवका आधारमा उत्पादनका काममा संलग्न भएका हुनेछन् । यसका लागि लोकतन्त्र शासन प्रणाली मात्र होइन, एक उन्नत जीवन पद्धति बन्नु आवश्यक छ । राज्य र नागरिकका बिचको घनिष्ट र आत्मीय सम्बन्धको विकासबाट हाम्रो पार्टी नेकपा (एमाले) लोकतन्त्रलाई जीवनमूल्य पद्धतिका रूपमा विकास गर्न चाहन्छ ।
समृद्धि नै सुखको आधार हो । सुख, मानवीय र जैविक आवश्यकताको सहज प्राप्ति हो । समृद्धिविना सुखको परिकल्पना गर्न सकिँदैन । समृद्धिका लागि आर्थिक सामाजिक विकास अनिवार्य सर्त हो । उत्पादक शक्तिको विकासबाट तीव्र आर्थिक सामाजिक विकास सम्भव हुन्छ । शिक्षा, स्वास्थ र रोजगारीको सहज उपलब्धताबाट नै उत्पादक शक्तिको तीव्र विकास गर्न सकिन्छ । उच्च र दिगो उत्पादन र उत्पादकत्व वृद्धि, आधुनिक पूर्वाधार र सघन अन्तर्आबद्धताको विकास, मानवीय पुँजी निर्माण, त्यसको पूर्ण उपयोग र उच्च तथा समतामूलक राष्ट्रिय आय समृद्धिका सूचक हुन् । हामी तीव्र आर्थिक सामाजिक विकासका माध्यमबाट त्यो लक्ष्य हासिल गर्न चाहन्छौ ।
पूर्वीय ज्ञान सिद्धान्तले भौतिक सुखलाई मानवीय सुखसित जोड्ने प्रयास गर्दैआएको छ । मानवीय सुखसँग नजोडिएको भौतिक विकासले समाजलाई अन्तर्द्वन्द्वमा धकेल्छ । हाम्रो पार्टी भौतिक विकासलाई सामाजिक विकास र मानवीय सुखसँग जोड्न चाहन्छ । सुखका लागि परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरणीय पद्धति, सबल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान आवश्यक हुन्छ । हाम्रो पार्टी समृद्धिका माध्यमबाट ती सुखका सूचकहरूलाई हासिल गर्न चाहन्छ, ताकि सबै व्यक्ति तथा घरपरिवारका पहुँचमा सुखी जीवन परोस् । आआफ्नो जीवनस्तर सबैले अझ माथि उठाउन सक्ने गरी आर्थिक भौतिक उन्नति होस् । अनि आआफ्नो रुचिको पेसा व्यवसाय अँगाल्दै भयरहित र सुरक्षित वातावरणमा बाँच्न पाउने अधिकार सबैका लागि सुनिश्चित रहोस् ।
विगतमा हाम्रो पार्टी नेतृत्वको सरकारले यस दिशामा सार्थक प्रयास अघि बढाएको थियो । पार्टीभित्रको सङ्गठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवादका कारणले त्यो प्रक्रिया अवरुद्ध भयो । जनताको जनादेशलाई खण्डित गरी मुलुकलाई अवसरवादको दलदलमा लैजाने कुप्रयासलाई रोक्न ताजा जनादेशमा जाने प्रयत्न गरियो । तर षडयन्त्र र दाउपेचका माध्यमबाट उक्त प्रयत्नलाई असफल पारियो । लोकतन्त्रका आधारभूत मूल्य, संसदीय पद्धति र हामी आफैले स्थापित गरेको दलीय प्रणालीका विरुद्धमा परमादेशका माध्यमबाट जनादेश प्राप्त सरकार हटाउने काम भयो । अब हामी पुनः नयाँ जनादेशका माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा अघि बढ्न चाहन्छौँ । यसका लागि नीतिगत नेतृत्व गर्ने गरी प्रतिनिधिसभा र प्रदेशसभामा बहुमत प्राप्त हुनु आवश्यक छ । यस निर्वाचनमा हाम्रो पार्टीले सोही उद्देश्य प्राप्तिका लागि बहुमतसहितको नेतृत्वका लागि जनतासमक्ष आफूलाई प्रस्तुत गरेको छ ।