घोषणा पत्रको पूर्ण पाठ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
[PDF]
[Word]
हाम्रो मूल मन्त्रः बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र
- नेकपा (एमाले) राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताप्रति सचेत छ, प्रतिबद्ध छ र संवेदनशील छ । यसले न्याय, समानता, सद्भाव, समृद्धि र गौरवका माध्यमबाट राष्ट्रिय एकतालाई सदृढ र मजबुत बनाउनेछ । मैत्रीभाव, सक्रियता र एकतालाई नेपालको राष्ट्रिय नीति र समाजको मूल चरित्रका रूपमा विकास गर्नेछ ।
- नेपाली जनताको त्याग, बलिदान र कष्टपूर्ण लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र सही प्रयोगमा नेकपा (एमाले) अडिग छ । नेकपा (एमाले) ले परिपूर्ण लोकतन्त्र (कम्प्रिह्यान्सिभ डेमोक्र्यासी) को पक्षपोषण गर्दछ । सबैलाई समान अधिकार, अवसरमा सबैको समान पहुँच, सबैमा समानताको प्रत्याभूति, सबैलाई सामाजिक न्याय एवम् सुरक्षा र सम्मानको सुनिश्चितताको पक्षमा एमाले रहन्छ ।
- नेकपा (एमाले) स्वच्छ, निष्पक्ष, धाँधलीरहित, प्रतिस्पर्धात्मक, बहुदलीय गणतन्त्रात्मक राजनीतिक प्रणालीमा विश्वास गर्दछ र यो मौलिक हक, शक्ति पृथक्कीकरण, सन्तुलन र नियन्त्रण, स्वतन्त्र न्यायालय, मानव अधिकारप्रति प्रतिबद्ध छ । भिन्न मतलाई स्वीकार गर्ने, सहअस्तित्वलाई सम्मान गर्ने, स्वच्छ प्रतिस्पर्धाको अवसर दिने, सबैलाई कानुन प्रदत्त स्थानको सुनिश्चितता दिने र सार्वभौम जनताको निर्णयलाई सर्वोपरि मान्ने लोकतन्त्रमा यो पार्टी विश्वास गर्दछ । नेकपा (एमाले) स्वस्थ प्रतिस्पर्धालाई शत्रुता ठान्दैन, निषेध र अधिनायकवाद कदापि मान्दैन ।
- जसरी हामीले संविधान निर्माणमा महत्त्वपूर्ण योगदान गऱ्यौँ, नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेर संविधानका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनमा पनि हामी दृढ छौँ ।
- संविधानले परिकल्पना गरेअनुसार प्रदेशलाई विकास निर्माणको सहजकर्ता बनाइनेछ, स्थानीय तहलाई सेवा प्रवाहको केन्द्र बनाइने छ, र यसको स्रोत साधन परिचालनलगायत व्यवस्थापकीय क्षमताको विकास गरिने छ ।
- देउवा नेतृत्वको सत्ताधारी गठबन्धनले संविधान कार्यान्वयनको यात्रालाई बारम्बार अवरुद्ध बनाएको छ । सत्तास्वार्थका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लज्जा हुने गरी संवैधानिक निकायलगायतका सरकारका प्रमुख अङ्गहरूको चरम दुरुपयोग गरेको छ । संविधान मात्र होइन, राष्ट्रलाई असफल बनाउने षड्यन्त्र गरेको छ । नेकपा (एमाले) ले यस्तो अवरोध हटाई नेपालीको आकाङ्क्षा र भावनाअनुसार संविधानको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने छ । संविधानवादको अभ्यास गर्दा नेकपा (एमाले) सदासर्वदा नेपाली जनताको पक्षमा उभिनेछ ।
- राष्ट्रियता, राष्ट्रिय सुरक्षा, लोकतन्त्र, शासनप्रणाली, परराष्ट्र सम्बन्ध, सुशासन, विकास निर्माण र समृद्धिलगायतका राष्ट्रका आधारभूत विषयहरूमा नेकपा (एमाले) ले राष्ट्रिय सहमति निर्माण गरी राष्ट्रिय सामर्थ्य वृद्धि गर्नेछ, राष्ट्रिय स्थायित्व कायम गर्नेछ ।