घोषणा पत्रको पूर्ण पाठ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
[PDF]
[Word]
सांस्कृतिक रूपान्तरण, सामाजिक सद्भाव र राष्ट्रिय एकता
- सामाजिक सद्भाव, राष्ट्रिय एकता, सांस्कृतिक र धार्मिक सहिष्णुता एवं उदार मूल्यहरूको अभिवृद्धि गरिने छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतालाई संरक्षण र संवर्धन गरिने छ । जातीय सङ्कीर्णता, भौगोलिक विखण्डन र धार्मिक अतिवादजस्ता प्रवृत्तिलाई निरुत्साहित गरिने छ । विविधता र बहुलतालाई नेपालको सम्पदाका रूपमा विकास गरिने छ । ‘सामाजिक सद्भाव र राष्ट्रिय एकता’ नीतिका आधारमा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ गर्न विशेष अभियान सञ्चालन गरिने छ ।
- हाम्रो सभ्यता, भाषा, धर्म र संस्कृतिको संरक्षण र विकास गरिने छ । नेपाली सभ्यतालाई नयाँ उचाइमा पुऱ्याउन पुनर्जागरणको अभियान सञ्चालन गरिने छ । प्रत्येक प्रदेशमा कला, साहित्य र संस्कृतिको विकासका लागि प्रतिष्ठान स्थापना गरिने छ । त्यसरी नै प्रत्येक प्रदेशमा विज्ञान, प्रविधि र अन्वेषणसम्बन्धी प्रतिष्ठानहरू स्थापना गरिने छ ।
- कलाकर्मी, स्रष्टा, साहित्यकारको हक हित संरक्षण गरिने छ । थप क्षमता प्रस्फुटनका लागि आवश्यक वातावरण बनाइने छ र प्रतिभाको सम्मान गरिने छ । कलाकार, संस्कृतिकर्मी, स्रष्टा, सबै धार्मिक क्षेत्रका अगुवा र समाजसेवीहरूलाई सम्मानित रूपमा राष्ट्रउत्थानमा उत्प्रेरित गरिने छ ।
- राजनीतिलगायत विभिन्न क्षेत्रमा देखापरेका विकृतिको अन्त्य गर्दै स्वच्छता, पारदर्शिता र राष्ट्रिय हित तथा एकताका आदर्शहरूलाई प्रवर्धन गरिने छ । लागुपदार्थ, धूमपान, यौनव्यापार, मदिराको अनियन्त्रित उत्पादन, वितरण र उपभोगमा नियन्त्रण गर्दै सामाजिक मर्यादा प्रवर्द्धन गरिने छ ।
- मानव अधिकारको सम्मान, सामाजिक न्यायको प्रत्याभूति र सामाजिक सौहार्दता, जातीय सद्भाव र सांस्कृतिक सहचार्यका माध्यमबाट समुन्नत समाज निर्माण गरिने छ । धार्मिक आस्था, प्रथा वा प्रचलनका कारणले कसैलाई कुनै आघात वा मर्का पर्न दिइनेछैन । तर मानव अधिकारको उल्लङ्घन र सामाजिक सद्भावमा खलल पुऱ्याउन दिइनेछैन ।