घोषणा पत्रको पूर्ण पाठ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
[PDF]
[Word]
स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध
- हाम्रो परराष्ट्र सम्बन्ध संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त, पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिवद्धता तथा दायित्व र न्यायमा आधारित हुनेछ । ‘सबैसँग छ मित्रता, छैन कसैसँग शत्रुता’ को नीति अवलम्बन गरिने छ ।
- विदेश सम्बन्ध सञ्चालन गर्दा सार्वभौम समानताको नीति अवलम्बन गरिने छ । वास्तविक अर्थ र मर्मका साथ आफ्नो देशको स्वाधीनता र स्वतन्त्रताको प्रयोग गरिने छ ।
- छिमेक सम्बन्धलाई प्राथमिकतामा राखी अन्तर्राष्ट्रिय सम्बन्धको विकास गरिने छ ।
- हामी संयुक्त राष्ट्र सङ्घ, क्षेत्रीय तथा बहुपक्षीय संस्था र मञ्चहरूमा नेपालको हित, स्वाभिमान, प्रतिष्ठा, विश्व शान्ति, मानवता एवम् धर्तीको सुरक्षाका पक्षमा दृढतापूर्वक प्रस्तुत हुनेछौँ । संयुक्त राष्ट्र सङ्घ र क्षेत्रीय तथा बहुपक्षीय संस्थाहरूको थप सुधार र प्रभावकारिता वृद्धिको पक्षमा हुनेछौँ।
- नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतलाई अझ सुदृढ बनाइने छ । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित जुनसुकै देशसित जोडिएका नेपालको सीमाको समानरूपले सुरक्षा गरिने छ ।
- नेपालको हित संरक्षण र प्रवर्द्धन हुने गरी सन्धि सम्झौताहरूको पुनरावलोकन र संशोधन गरिने छ, आवश्यकताअनुसार नयाँ सन्धि सम्झौताहरू गरिने छ ।
- गैरआवासीय नेपालीहरूको अनुभव, सीप र पुँजीलाई नेपालको आर्थिक, सामाजिक विकासका लागि उच्च सम्मानका साथ परिचालन गरिने छ ।