detail-img

अध्यक्ष ओलीद्वारा दुःख व्यक्त 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनका निष्ठावान् कार्यकर्ता सुदर्शन श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 
अध्यक्ष ओलीले स्वर्गीय सुदर्शनको आमा दुर्गादेवी श्रेष्ठलाई सन्देश पठाउनु भई स्वर्गीय सुदर्शनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकमा रहेको परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । 
अध्यक्ष ओलीले सन्देशमा श्रेष्ठ परिवारले लोकतान्त्रिक तथा कम्युुनिष्ट आन्दोलन सफलताका लागि निर्वाह गरेको भूमिकाको स्मरण गर्नुभएको छ । निरङ्कुश शासनको बर्बर दमनको कठिन समयमा पार्टीलाई जोगाउन त्यस परिवारले पुर्याएको योगदान अतुलनीय रहेको अध्यक्ष ओलीले सन्देशमार्फत जनाउनुभएको छ । 
अध्यक्ष ओलीको समवेदना सन्देश पार्टीका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले स्व.सुदर्शनको परिवारलाई हस्तान्तरण गर्नुभएको छ । समवेदना व्यक्त गर्न पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारी लगायत जानुभएको थियो । 
काठमाडौंको त्यौड निवासी सुदर्शन, उहाँका बुवाआमा र परिवारले निरङ्कुश पञ्चायती शासनकालदेखि लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनलाई सहयोग पुर्याएको थियो । उहाँहरूको घर कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताको आश्रयस्थल तथा संरक्षण र सम्पर्कस्थलका रूपमा प्रयोग भएको थियो । स्व.सुदर्शन क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।