detail-img

‘विदेशी शक्तिका कारण एमालेसहितको गठबन्धन भत्कियो’ 

सुर्खेत । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपालका कम्युनिष्टहरू मिलेको देख्न नचाहने विदेशी शक्तिका कारण माओवादीसँगको गठबन्धन भत्किएको बताउनुभएको छ ।
पार्टीको मिसन ग्रासरूट अन्तर्गत मङ्गलबार सुर्खेतको गुर्भाकोटमा आयोजित नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल नेपालका कम्युनिष्ठ मिलेको हेर्न नचाहने विदेशी शक्तिको प्रभाव र दबाबमा परेका कारण गठबन्धन भत्किएको बताउनुभयो । 
कम्यनिष्ट गठबन्धन भत्काएर प्रचण्ड प्रतिक्रियावादीको सेवक बनेको उहाँले भनाई छ । नेकपा (एमाले) सहित बनेको गठबन्धन भत्काउन षडयन्त्र भएको भन्दै अध्यारो कोठाभित्र भएका षडयन्त्रहरू चाँडै खुल्ने उहाँको विश्वास छ ।
सचिव भट्टराईले एमालेले कुनै विदेशी शक्तिको नुन खाएर भक्तिभाव नगर्ने वताउनुभयो । नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाको लागि नेकपा (एमाले) ले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उहाँको भनाई छ । उहाँले निर्वाचनदेखि नै एमाले बिरूद्ध घेराबन्दी गर्न खोजेपनि जनतामाझ लोकप्रिय पार्टीका रूपमा स्थापित भएको वताउनुभयोे । 
पार्टीका केन्द्रीय सदस्य धर्मराज रेग्मीले विगतमा एमाले सरकारमा जाँदा गर्व गर्न लायक काम गरेको भन्दै यसमा पार्टी सदस्यलाई गर्व गर्न आग्रह गर्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नका लागि आगामी निर्वाचनबाट एमालेलाई दुई तिहाईसहित सरकारमा पुर्याउन आवश्यक रहेको रेग्मीको भनाइ छ । जनताका मुद्धा बोक्ने एमाले मात्रै एकल पार्टी भएको भन्दै उहाँले काँग्रेस, माओवादी लगायत अरू दल आफ्नै स्वार्थमा रूमल्लिएको वताउनुभयोे ।
कार्यक्रममा पूर्व सांसद ध्रुवकुमार शाही, नेकपा (एमाले) सुर्खेतका कार्यवाहक अध्यक्ष कुलमणि देवकोटा लगायतले मिसन ग्रासरूटले पार्टी जीवन्त बनाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कम्युुनिष्ट आन्दोलनमा योगदान पुुर्याउनुभएका  २० जना अग्रजहरूलाई सम्मान गरिएको छ ।