एमाले आज

मनोविज्ञान बुझ्न नसक्दा एमालेसँग चारवटा समुदाय टाढिन पुग्योः महासचिव पोखरेल

सेयर गर्नुहोस्

१७ साउन (२०८३), काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीसँग स्पष्ट वैचारिक मार्गदर्शन र विकासको खाका भए पनि जनताको विश्वास जोगाउन नसक्दा निर्वाचनमा पराजय भोग्नुपरेको बताउनुभएको छ । 
आइतबार नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीको ११औँ पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले र जनताबीचको भावनात्मक सम्बन्ध टुटेको बताउनुभयो । 
एमालेसँग सहरी मध्यम वर्ग, नवयुवा (जेन्जी समूह), सहरी गरिब तथा भूमिहीन सुकुम्बासी र वैदेशिक रोजगारीमा रहेका नेपाली गरी मुख्य चार वटा समुदाय टाढिएको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– हामीले भौतिक पूर्वाधार र राष्ट्रियताका क्षेत्रमा अभूतपूर्व काम गर्यौं तर जनताको बदलिएको मनोविज्ञान र उनीहरूको आय तथा जीवनशैलीबीचको अन्तरलाई बुझ्न सकेनौँ, काम परेका बेला मात्रै जनता खोज्ने औपचारिक परिपाटीले गर्दा एमाले र जनताबीचको सम्बन्ध कमजोर बन्यो ।
उहाँले तत्कालीन नेकपा कालमा बनेका सीमित नेताहरूको संयन्त्रका कारण पार्टीको परम्परागत कमिटी प्रणाली र कार्यकर्ताको भूमिका कमजोर भएको स्मरण गर्दै अब पार्टीलाई कार्यकर्ता–आधारित कमिटी प्रणालीमा फर्काइने बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– माथिबाट खटिने नेताहरू निर्णयकर्ता होइनन्, सहजकर्ता र अभिभावक मात्रै हुन्, निर्णय गर्ने अधिकार तल्ला कमिटी (वडा, पालिका र जिल्ला)लाई नै हुनुपर्छ ।
नयाँ राजनीतिक शक्तिहरूप्रति टिप्पणी गर्दै उहाँले पपुलिजम, अराजकतावाद र अवसरवादको जगमा उभिएका शक्तिहरूको आयु लामो नहुने दाबी गर्नुभयो । तर, उनीहरू कमजोर हुँदैमा एमाले स्वतः बलियो नहुने भन्दै महासचिव पोखरेलले दक्षिणपन्थ र पपुलिजमतर्फ ढल्किएका मतदातालाई योजनाबद्ध ढङ्गले एमालेमा फर्काउन व्यापकरुपमा पार्टी जागरण अभियान सञ्चालन गरिने बताउनुभयो । 

हामीसँग जोडिनुहोस्