detail-img

अनुसन्धान प्रतिष्ठानले आर्थिक सङ्कटबारे अन्तरक्रिया गर्ने


काठमाडौं । नेकपा (एमाले), अनुसन्धान प्रतिष्ठानले मुलुकमा सिर्जना भएको आर्थिक सङ्कटका बारेमा अन्तरक्रिया गर्ने भएको छ ।

 
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा  २०७९ असार ९ गते बसेको प्रतिष्ठानको निर्देशक समितिको बैठकले वर्तमान सरकार गठन भएयता दिन प्रतिदिन मुलुक आर्थिक सङ्कटतर्फ गइरहेकाले यस विषयमा विज्ञहरूसमेतको सहभागितामा अन्तरक्रिया गर्ने निर्णय गरेको हो । 

बैठकले प्रतिष्ठानको कार्यविधिमाथि छलफल गरी अन्तिम रूप दिएको पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका प्रमुख पोखरेलले वताउनुभयो । 

बैठकले प्रतिष्ठानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न केही योजना बनाउनुका साथै विषयगत विज्ञहरूको रोष्टर तयार गरेको छ । 

प्रतिष्ठानमा बरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य डा.राजन भट्टराई, डा.युवराज खतिवडा, डा.दिनेशचन्द्र देवकोटा, डा.अन्जान शाक्य, डा.अजय शर्मा र डा.बी. उप्रेती हुनुहुन्छ ।