detail-img

     किमाथाङ्का नाका खोल्ने विषय  उठाउन प्रमलाई ज्ञापनपत्र

काठमाडौं । नेकपा (एमाले) सङ्खुवासभाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणमा किमाथाङ्का नाका खोल्ने बिषय समावेश गर्न माग गरेको छ । 
नेकपा (एमाले) संखुवासभाले संखुवासभाका प्रमुख जिल्ला अघिकारी शिवकुमार कार्कीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र पठाएको हो । 
पार्टीका केन्द्रीय सदस्य तथा संखुवासभा इन्चार्ज जीवन घिमिरे, कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपाने, कोशी प्रदेश सचिवालय सदस्य मुरारी प्रसाद खतिवडा, लक्ष्मण तिवारी,संखुवासभा अध्यक्ष जीतबहादुर घिमिरे, सचिव खड्ग राई लगायतको टोलीले प्रमुख जिल्ला अघिकारीमार्फत प्रधानमन्त्रीलाई  ज्ञापनपत्र  पठाएको हो । 
ज्ञापन पत्रमा सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिकामा रहेको  चीनको तिब्बतसँग जोडिएको उत्तरी नाका किमाथाङ्का खोल्ने सहमति धेरै पहिला भए पनि अहिलेसम्म नखुल्दा समस्या भएको उल्लेख गरिएको छ । 
ज्ञापनपत्रमा प्रधानमन्त्रीको चीन भ्रमण कार्य सूचिभित्र किमाथाङ्का सञ्चालन गर्ने बिषय समाबेश गरी नाका  खुलाउन पहल गर्न  अनुरोध गरिएको छ ।  कोरोना महामारीको कारण देखाउँदै २०७६ माघ ५ गतेदेखि चीन सरकारले सङ्खुवासभाको किमाथाङ्का नाका बन्द गरेको थियो ।