detail-img

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालीहरूका महान चाड बडादसैंँ, तिहार, नेपाल सम्वत ११४४ र छठका अवसरमा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरियो ।   
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई सहभागी हुनुभयो । 
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा सीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेता बामदेव गौतम लगायत विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरूको चियापान कार्यक्रममा सहभागिता रहेको थियो । 
चियापानमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू, राजदूतहरू, सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ व्यक्तिहरू, विभिन्न पेशा व्यवसाय र सामाजिक क्षेत्रका महानुभावहरू सहभागी हुनुहुन्थ्यो । 
अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका नेताहरूले विशिष्ट अतिथिहरू प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा लगायत पाहुनाहरूको स्वागत गर्नुभएको थियो । अध्यक्ष ओलीले सबै अतिथिहरूलाई शुभकामना दिनुभएको थियो ।


सो अवसरमा 

अध्यक्ष ओलीले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति कायम गरी शान्ति प्रक्रियाको बाँकी काम अब ढिलो नगरी टुङ्ग्याउनुपर्ने बताउनुभएको थियो । 
अध्यक्ष ओलीले भन्नुभयो–शान्ति प्रक्रियालाई सहमतिका साथ टुङ्ग्याउनुपर्छ । पीडितलाई केन्द्रमा राख्नुपर्छ । सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार काउन्सिलले भनेका कुराहरूलाई पनि ध्यान दिनुपर्छ ।
अध्यक्ष ओलीले विशिष्ट अतिथिहरू, अतिथिहरू तथा चियापानमा सहभागी सबैलाई धन्यवाद दिनुभएको छ । चियापान कार्यक्रममा पार्टीका नेताकार्यकर्ता, शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।