detail-img

देश विकासको लागि एमालेलाई सबल र निर्णायक शक्ति बनाउनुपर्छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको लागि सबल र निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको छ । अनेरास्ववियु केन्द्रीय कमिटीको पूर्ण बैठकलाई बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले   नेकपा (एमाले) सबल राष्ट्रिय शक्ति भए पनि निर्णायक राष्ट्रिय शक्ति नबनेको बताउनुभयो । 
२०८४ को निर्वाचनमा नेकपा (एमाले)लाई सबल राष्ट्रिय शक्तिबाट निर्णायक सुदृढ राष्ट्रिय शक्ति बनाउनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– अरू राष्ट्रिय शक्ति बन्न सक्दैनन्, एमाले राष्ट्रिय शक्ति बन्नुपर्छ । 
अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि नेकपा (एमाले) नै सत्तामा पुग्नुपर्ने र त्यसका लागि पार्टी एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 
उहाँले सबैभन्दा महत्वपूर्ण कुरा एकता भएको बताउँदै संगठन र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने र त्यसका लागि विचार प्रमुख विषय भएको प्रष्ट पार्नुभयो । 
अध्यक्ष ओलीले लक्ष्य नतोकी हिँडियो भने गन्तव्य निश्चित नहुने बताउँदै भन्नुभयो– सँगै हिँड्दा बल हुन्छ, उछिनपाछिन गर्दा बल हुँदैन, अनेकता हुँदा बल हुँदैन, एकता हुँदा बल हुन्छ । 
चुनावदेखि चुनावसम्म, पददेखि पदसम्मको राजनीति देश र जनताको लागि हितकर नहुने बताउँदै अध्यक्ष ओलीले अहिलेको अवस्थाबाट उन्नत र समृद्ध समाज निर्माण गर्ने कुरा राजनीतिक लक्ष्य हुनुपर्नेमा जोड दिनुभयो । 
अहिले नयाँ नयाँ भन्ने दलका कुनै गन्तव्य तथा राजनीतिक लक्ष्य र उद्देश्य नभएको बताउँदै उहाँले भन्नुभयो– झिल्के मिल्के कुरा गरेर दिगो राजनीति गर्न सकिँदैन । राजनीतिको लागि दिगो सोच र लक्ष हुनुपर्छ ।