२५ पुस (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्न जनसंगठनहरूलाई निर्देशन दिनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसंगठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई वर्गसङ्घर्षको लडाईं भएको उल्लेख गर्दै महासचिव पोखरेलले पार्टीको नीति, विचार र उपलब्धिलाई जनतामाझ प्रभावकारी ढङ्गले पुर्याउने जिम्मेवारी जनसंगठनकै काँधमा रहेको बताउनुभयो ।
उहाँले केन्द्रबाट तय गरिएका योजनाहरू स्थानीय तहसम्म कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै निर्वाचन केन्द्रित बैठक, अभियान र संवादलाई तीब्र बनाउन आग्रह गर्नुभयो ।
बैठकमा सामाजिक सञ्जालको प्रभावकारी परिचालनमार्फत पार्टीको पक्षमा जनमत निर्माण गर्नुपर्नेमा विशेष जोड दिइएको छ ।
पार्टीको सर्कुलरअनुसार सबै जनसंगठनहरू परिचालित भई युवासहित विभिन्न वर्ग, समुदाय र पेशागत समूहमा पार्टीको सन्देश सशक्त रूपमा पुर्याउनुपर्ने महासचिव पोखरेलको भनाइ थियो ।
बैठकमा महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरू स्वस्फूर्त नभई योजनाबद्ध रहेको र ती घटनामा संलग्नहरूको फुटेज सार्वजनिक भइसकेको उल्लेख गर्दै त्यस विषयलाई लिएर जनतामाझ जानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
ती घटना आकस्मिक वा क्षणिक नभई लामो तयारीका साथ गराइएको थियो, यो कुरा जनतालाई बुझाउन जरूरी छ’– उहाँले भन्नुभयो ।
यसैगरी बैठकमा पार्टीका सचिव एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनसंगठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी रूपमा परिचालन हुन निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न जनसंगठनले जनतासँग प्रत्यक्ष सम्पर्क, संवाद र अभियानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
बैठकले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्ने लक्ष्यसहित जनसंगठनको भूमिकालाई अझ सशक्त बनाउने निष्कर्ष निकालेको छ ।