detail-img

मुलुकको समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्यः महासचिव पोखरेल

२ माघ (२०८२), दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि, आत्मनिर्भरता र दिगो विकासका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताउनुभएको छ । 
माघे सङ्क्रान्तिको अवसरमा दाङमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले नेतृत्वमा प्राकृतिक स्रोतको उत्खननदेखि ठूला पूर्वाधार, शिक्षा र ऊर्जा क्षेत्रमा ऐतिहासिक कामहरू अघि बढाइएकै कारण मुलुक विकासको सही दिशामा गएको बताउनुभयो ।
एमाले नेतृत्वको सरकारका पालामा दैलेखको पेट्रोलियम खानी, नवलपरासीको फलाम खानी तथा मुस्ताङको युरेनियम खानीको उत्खनन र अध्ययन कार्य सुरु गरिएको हो । 
नेपाल आफ्नै स्रोत–साधनको उपयोग गर्दै आत्मनिर्भर बन्ने दिशामा अघि बढ्न थालेपछि केही धनी राष्ट्रहरू असहज भएको उल्लेख गर्दै उहाँ भन्नुभयो– नेपाल समृद्धिको बाटोमा अघि बढेपछि एमालेको राष्ट्रवादी नीतिविरुद्ध केही शक्तिहरू उभिएका छन् ।
पूर्वाधार विकासतर्फ दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माण तीब्र गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै महासचिव पोखरेलले यसअघि भारतीय एक्जिम बैंकको ऋणमा भएको सम्झौता कार्यान्वयनमा जटिलता आएपछि परियोजना अल्झिएको समयमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल सरकारकै बजेटबाट निर्माण प्रक्रिया अघि बढाएर परियोजनालाई गति दिएको स्मरण गराउनुभयो । 
शिक्षा क्षेत्रमा पनि एमाले सरकारले ठोस पहल गरेको बताउँदै उहाँले दाङमै त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ कलेज सञ्चालनमा आएको जानकारी दिनुभयो । यसबाट स्थानीय युवालाई प्राविधिक शिक्षामा पहुँच बढाएको उहाँको भनाइ छ ।
त्यस्तै, दाङमा महाभारत पर्वतबाट बग्ने खोलामा ड्याम बाँधेर जलाशय निर्माणको काम सुरु भइसकेको उल्लेख गर्दै महासचिव पोखरेलले यसले सिँचाइ, ऊर्जा उत्पादन र समग्र विकासमा दीर्घकालीन टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयोे ।
उहाँले एमाले नेतृत्वमा अघि बढाइएका यी योजनाहरूले मुलुकलाई आत्मनिर्भर, समृद्ध र सुदृढ बनाउने दिशामा निर्णायक योगदान दिने विश्वास व्यक्त गर्नुभयो । 
घोराही–तुलसीपुर सडकको प्रगति अनुगमन 
महासचिव पोखरेलले घोराही–तुलसीपुर चारलेन सडक निर्माणको अवस्थाबारे जानकारी लिनुभएको छ । यस क्षेत्रको बहुप्रतिष्ठित योजनाका रूपमा रहेको चारलेन सडक निर्माणस्थलमै पुगेर महासचिव पोखरेलले सडक निर्माणको प्रगतिका विषयमा जानकारी लिनुभएको हो । 
डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले महासचिव पोखरेलले सडक निर्माणमा केही समस्या भए सहजीकरण गर्न तयार रहेको बताएको र निर्धारित समयमै सडक निर्माण सम्पन्न गर्न आग्रह गरेको जानकारी दिनुभयो । उक्त सडकको अहिलेसम्मको कामको प्रगतिबारे महासचिवलाई जानकारी गराइएको उहाँले बताउनुभयो । 
दुई अर्ब ८८ करोड ८२ लाख ३९ हजार अनुमानित लागतमा निर्माण भइरहेको यो सडक तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण भइरहेको छ । सडक ३० मिटर चौडा हुनेछ । 
२०८२ असार २४ गते ठेक्का सम्झौता भएको उक्त सडक निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित तीब्र गतिमा काम भइरहेको भन्दै कार्यालय प्रमुख विष्टले हाल माटोपटान, सडक संरचनाहरू निर्माण, बिजुलीका पोल सार्ने काम तथा रुख कटान छपानजस्ता कार्यहरू सञ्चालनमा रहेका छन् ।