detail-img

लोकतन्त्र बचाउनु अहिलेको मुख्य आवश्यकताः अध्यक्ष ओली

२ माघ (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अराजकता फैलाउने र ‘देशलाई आगो लगाउने’ तत्त्वलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताउनुभएको छ ।
आज नेकपा (एमाले) राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र रक्षाका लागि यस्ता समूहलाई बेलैमा चिनेर चुनावबाटै किनारा लगाउनुपर्ने बताउनुभयो । 
अहिलेको मुख्य आवश्यकता लोकतन्त्र बचाउनु भएकोमा जोड दिँदै अध्यक्ष ओलीले देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग एमालेको कुनै प्रतिस्पर्धा नरहेको स्पष्ट गर्नुभयो । 
लोकतन्त्र नै नरहे प्रतिस्पर्धाको अर्थ नहुने भन्दै अध्यक्ष ओलीले भन्नुभयो– हाम्रो प्रतिस्पर्धा देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग छँदै छैन । लोकतन्त्र बच्यो भने न प्रतिस्पर्धा गर्ने हो, लोकतन्त्र नै बचेन भने केमा प्रतिस्पर्धा गर्ने ?
अध्यक्ष ओलीले असंवैधानिक र लोकतन्त्रविरोधी गतिविधि गर्ने तथा देशलाई अस्थिरतातिर धकेल्नेहरूलाई पराजित गर्नुपर्नेमा जोड दिनुभयो । 
उहाँले केही तत्त्वहरूले देशमा संविधान, राजनीति, दल र नेताहरू नै नचाहिने भन्दै आतङ्क मच्चाइरहेको बताउनुभयो । अध्यक्ष ओलीले देशलाई नीतिहीन र थितिहीन अवस्थामा पुर्याएर अराजकताको राज्य बनाउन खोज्नेहरूलाई चिन्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
अहिलेको लडाइँ लोकतन्त्र मास्न खोज्ने र देशमा आगो लगाउन खोज्नेविरुद्ध भएको भन्दै लोकतन्त्रवादी शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने उहाँले बताउनुभयो । संविधान र राजनीति सिध्याउन खोज्ने अराजक तत्त्वहरू नै अहिलेको मुख्य चुनौती रहेको उहाँको भनाइ छ ।
नवगठित नेकपा (एमाले) राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष रघुजी पन्त, सचिव तथा राजधानी  प्रदेश इन्चार्ज डा. राजन भट्टराई, सचिव महेश बस्नेत लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।