detail-img

पूर्वमन्त्रीद्वय यादव र राई तथा वीरगञ्जका मेयर सिंहसहित जसपाका नेताकार्यकर्ता एमालेमा 

५ माघ (२०८२), काठमाडौं । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेताहरू प्रदीप यादव, इस्तियाक राई र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लगायत जसपाका नेताकार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । 
गएराती नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु पुगेर उहाँहरू एमाले प्रवेश गर्नुभएको हो । अध्यक्ष ओलीले उहाँहरूलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । 
नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका अनुसार यादव, राई र सिंहलगायतका नेताहरूलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टी प्रवेश गराउनुभएको र  पार्टीले यादवलाई पर्सा–१ मा र राईलाई बाँके– २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि बनाउने भएको छ ।
यसैगरी वीरगञ्ज महानगरपालिकाका सातजना वडाअध्यक्षहरू पनि नगरप्रमुख सिंहसँगै एमालेमा प्रवेश गरेका छन् । प्रमुख सिंह एमालेमा प्रवेश गरेपछि आज वीरगञ्जमा आयोजना हुने कार्यक्रममा ठूलो सङ्ख्या जसपा र अन्य पार्टीमा रहेका वडाअध्यक्षहरू एमालेमा प्रवेश गर्ने तयारीमा रहेको  नेकपा (एमाले) पर्सा जिल्ला कमिटी सचिव महेश दासले जानकारी दिनुभयो । 
यसैगरी, शनिवार कपिलवस्तुका नेपाली कांग्रेसका प्रभावशाली नेता वीरेन्द्र कनोडिया पनि नेकपा (एमाले)मा प्रवेश गर्नुभएको थियो । उहाँलाई पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ मा उम्मेदबार बनाउने निर्णय गरेको छ ।