detail-img

७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौंः अध्यक्ष ओली

७ माघ (२०८२), दमक (झापा) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा बिजय हासिल गर्ने बताउनुभएको छ । 
कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरू पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको उल्लेख गर्दै उहाँले कुल खसेको मतको दुईतिहाइभन्दा बढी मत एमालेले पाउने विश्वास व्यक्त गर्नुभयो ।  
बुधबार झापाको कमल गाउँपालिकाका  कार्यकर्ताहरूसँगको भेटमा अध्यक्ष ओलीले यहाँको विकास, रुपान्तरण, जनआधारका कारण सिङ्गो क्षेत्रनै एमालेको पक्षमा एकढिक्का रहेको बताउनुभयो । 
त्यस क्रममा उहाँले अहिले राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउने बेला आएको पनि बताउनुभयो । गत भदौमा भएको घटना राजनीतिक कार्य भन्दा बढी आपराधीक कार्य भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस बेला केही व्यक्तिको आन्दोलनका क्रममा मृत्यु भएको भए पनि धेरै जसो आपराधिक कार्य गर्दा मृत्यु भएको भनाइ राख्नुभयो ।  
काँग्रेस र एमालेलाई मिल्न नदिने, देशमा विदेशीले केही गर्न नपाउने भए भनेर र अस्थिरताको खेती गर्नेहरूले यि सबै काम गरेको भन्दै त्यस्ताबाट देशलाई जोगाउनुपर्ने उहाँले बताउनुभयो । 
दमक, कमल, गौरादह, गौरीगञ्ज लगायतका क्षेत्रमा भएका विकास र प्रगति सबैका अघि छर्लङ् रहेको भन्दै अध्यक्ष ओलीले यो देश, यो क्षेत्रका लागि कुनै योगदान नगरेका व्यक्तिहरूबाट केही हुन नसक्ने बताउनुभयो । 
यहाँको नदीकटान नियन्त्रण, बाँध निर्माण, पुल तथा सडक निर्माण, विद्यालय भवन, विद्युतीकरण, खानेपानी, स्वास्थ्य क्षेत्र हरेक क्षेत्रमा भएको विकासबारे कसैलाई बुझ्न बाँकी रहेछ भने बुझाउन पनि उहाँले आग्रह गर्नुभयो । 
दमकमा अपाङ्गता भएकाहरूको सिक्री झिक्ने, अपमान गर्नेहरूबाट जोगाउँदै विकासका कामलाई थप तिब्रता दिन जरुरी रहेको उहाँले बताउनुभयो । 
सुकुम्बासी बस्तीमा डोजर चलाउनेहरूलाई भूमिहीन नागरिकलाई कसरी बसोबासको व्यवस्था मिलाउने थाहा नहुने भन्दै विपन्न आवास कार्यक्रम, एकीकृत वस्ती विकास लगायतका योजनाबाट धेरैले घरबास पाएको पनि अध्यक्ष ओलीले स्मरण गराउनुभयो । रङ्गशाला बनाउन थाल्दा अरुले भाषण मात्र गरेर भाँडेको उल्लेख गर्दै उहाँले अब अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला फागुनको चुनावपछि बनाइने बताउनुभयो । 
अध्यक्ष ओलीले यस क्षेत्रमा रहेका विभिन्न पालिकाका वडा स्तरका मतदाता र कार्यकर्ताहरूलाई अलग अलग भेट गरिरहनुभएको छ ।  झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहनुभएका अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा कार्यकर्ता र मतदातासँग भेटघाटमा व्यस्त रहनुभएको छ ।
उहाँले हिजो मध्यरातसम्म पार्टी कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नुभएको थियो । आज बिहानैदेखि पनि उहाँ अगुवा कार्यकर्ता तथा मतदातासँग भेटघाटमा व्यस्त रहनुभएको छ ।
स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै अध्यक्ष ओलीले आफूले अघि सारेका विकास आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको छ ।