detail-img

सिंहदरबार जलाउनेहरूलाई होइन, जनताले देश बनाउनेलाई मत दिने विश्वास 

७ माघ (२०८२), दाङ ।  नेकपा (एमाले)का महासचिव एवं दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आगामी निर्वाचनमा जनताले विनाश होइन, निर्माण चाहने शक्तिलाई मत दिने विश्वास व्यक्त गर्नुभएको छ । 
दाङको घोराहीमा पेशागत महासङ्घ नेपाल दाङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सिंहदरबार जलाउने सोच र कार्यशैलीले देश बनाउन नसकिने बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– सिंहदरबार जलाउनेहरूले देश बनाउँदैनन् । जनताले अब त्यस्ता शक्तिलाई होइन, देश बनाउनेहरूलाई मत दिन्छन् ।
राष्ट्रिय प्रतीकमाथि भएको आक्रमणलाई राष्ट्रविरोधी कार्यको रूपमा व्याख्या गर्दै उहाँले सिंहदरबार नेपालको केन्द्रीय प्रशासनिक केन्द्र भएकाले त्यसप्रति आक्रमण अस्वीकार्य रहेको भनाइ राख्नुभया ।
महासचिव पोखरेलले यो निर्वाचनलाई देश निर्माणको महत्वपूर्ण अवसरको रूपमा लिन आग्रह गर्नुभयो । अब जनताले अस्थिरता, बारम्बार सरकार परिवर्तन र विनाशकारी राजनीतिलाई अस्वीकार गर्दै विकास, समृद्धि र स्थिरताको पक्षमा मतदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
दाङको विकासबारे बोल्दै महासचिव पोखरेलले सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । घोराही र आसपासका क्षेत्रको समग्र विकासका लागि निरन्तर काम गर्ने उहाँको भनाइ थियो ।
महासचिव पोखरेलले एमाले सधैँ जनताको हित, राष्ट्रिय एकता र देश निर्माणको पक्षमा उभिने पार्टी भएको उल्लेख गर्दै विनाशकारी सोच र व्यवहारले देश अगाडि बढ्न नसक्ने कुरा दोहोर्याउनुभयो ।