८ माघ (२०८२), दमक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आगामीे निर्वाचन राष्ट्रियता र मुलुकको स्वाधीनतासँग प्रत्यक्ष रूपमा जोडिएको निर्वाचन भएको बताउनुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवार बन्नुभएका अध्यक्ष ओलीले आज गौरादह र गौरीगञ्ज क्षेत्रका अगुवा नेता–कार्यकर्तासँग भेटघाट तथा मतदातासँग अन्तरक्रिया गर्दै यो निर्वाचन सामान्य सत्ता परिवर्तनको विषय मात्र नभएको स्पष्ट गर्नुभयो ।
बाह्य शक्तिको प्रभाव, गलत एजेन्डा र अस्थिरताको राजनीतिबाट देशलाई जोगाउन सचेत भएर निर्णय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– देशको स्वाधीनता, स्थायित्व र विकासको पक्षमा उभिने शक्ति एमाले हो ।
उक्त भेटघाटमा उहाँले पार्टीको एजेन्डा, विगतमा आफूले खेलेको भूमिका र वर्तमान राजनीतिक परिस्थितिबारे धारणा राख्नुभएको थियो ।
अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले ग्रामीण क्षेत्रको विकास र समृद्धिमा नेकपा (एमाले)को निर्णायक भूमिका रहेको उल्लेख गर्नुभयो । सडक, पुल, विद्युत, खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत पूर्वाधार विस्तारमा एमाले नेतृत्वका सरकारले महत्वपूर्ण काम गरेको उहाँले बताउनुुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो, आज देखिएका धेरै पूर्वाधार विकासका काम त्यसैको परिणाम हुन् ।
सामाजिक सञ्जालको प्रभावबारे कार्यकर्ता र मतदातालाई सचेत रहन आग्रह गर्दै उहाँले सामाजिक सञ्जालमा फैलाइने भ्रम, अफवाह र मनस्थिति बनाउने प्रयासलाई चिर्ने जिम्मेवारी कार्यकर्ताको भएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– सामाजिक सञ्जालमा जे देखियो, त्यही सत्य ठान्ने प्रवृत्ति खतरनाक छ, यथार्थ, तथ्य र कामको आधारमा जनतालाई बुझाउने काम गर्नुपर्छ ।
भेटघाट तथा अन्तरक्रियामा सहभागी अगुवा कार्यकर्ता र मतदाताले स्थानीय समस्या, विकासका आवश्यकता र निर्वाचन रणनीतिबारे आफ्ना जिज्ञासा राखेका थिए । अध्यक्ष ओलीले ती जिज्ञासाको जवाफ दिँदै पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको विश्वास बलियो बनाउने दिशामा अघि बढ्न आग्रह गर्नुभयो ।
अराजकताको आयू लामो हुँदैनः अध्यक्ष ओली
यसैगरी, आजै झापाको दमक–८ स्थित नेपाली कम्युनिष्ट पार्टीका नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकनका क्रममा अध्यक्ष ओलीले अराजकताको आयू लामो नहुने भन्दै आपराधिक क्रियाकलापमा संलग्नहरू कार्वाहीको दायरामा आउने बताउनुभयो ।
जेनजीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मतपछि बस्दै आएका पुरीलाई आश्वस्त पार्दै अध्यक्ष ओलीले भन्नुभयो– सधैं अराजकता कहाँ टिक्छ र, एक दिन त कार्वाहीको दायरामा ल्याएरै छोडिन्छ नि, बरु उजुरी–निवेदन लगायतको प्रक्रिया चाहीँ अघि बढाउनु होला ।
नेता पुरीले आफुले सबै प्रमाणहरू संकलन गरिसकेको र कानूनी उपचारको प्रक्रिया पनि अघि बढाएको बताउनुभयो । आगजनी र तोडफोडका क्रममा सम्पत्ति लुटिएको, घरायसी सामानहरू जलाइएको र घर पनि तोडफोड गरिएको पुरीले जनाउनुभयो ।