detail-img

रामेछापको समग्र विकासको बहुआयामिक योजना सार्वजनिक

१२ फागुन (२०८२), रामेछाप । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट रामेछापमा उम्मेदवारी दिनुभएका माधव ढुङ्गेलले जिल्लाको समग्र विकासका लागि बहुआयामिक योजना सार्वजनिक गर्नुभएको छ । 
उहाँले सडक, कृषि, पर्यटनदेखि डिजिटल पूर्वाधारसम्म समेटिएको समग्र विकासको खाका अघि सार्दै ‘समृद्ध रामेछाप’ निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको हो ।
पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका उम्मेदवार ढुङ्गेलले पालिका केन्द्रदेखि सबै वडासम्म कालोपत्रे सडक विस्तार गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले जिल्लाको रणनीतिक महत्त्व बोकेको मन्थली विमानस्थललाई बाह्रै महिना सञ्चालनमा ल्याई लुक्ला÷सगरमाथाको प्रवेशद्वार (गेटवे)का रूपमा विकास गर्ने योजना पनि अघि सार्नुभएको छ । यसले पर्यटन र स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास गरिएको छ ।
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै सुपरजोन कार्यक्रम लागू गर्ने र व्यावसायिक उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने योजना छ । ‘आफ्नै पानी, आफ्नै लगानी’ अवधारणाअन्तर्गत जलविद्युत विकासमा स्थानीय सहभागिता बढाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।


युवालाई लक्षित गर्दै युवा स्वरोजगार कोष स्थापना, बिजनेस हब सञ्चालन तथा बिना धितो सहुलियतपूर्ण कर्जा नीति ल्याइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । सीप विकासका लागि आवासीय उच्चस्तरीय तालिम सञ्चालन गरिने योजना पनि समेटिएको छ ।
ढुङ्गेलले ‘एक पालिका, एक छात्रवृत्ति’ कार्यक्रमअन्तर्गत जेहेन्दार विद्यार्थीलाई चिकित्सा शास्त्र अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्नुभएको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत विद्यार्थीलाई अध्ययनसँगै आम्दानीको अवसर सिर्जना गरिने उहाँको प्रतिबद्धता छ ।
स्वास्थ्य क्षेत्रमा अस्पताल स्तरोन्नति, सर्वसुलभ उपचार सेवा तथा खानेपानीतर्फ ‘एक घर, एक धारा’ अभियान र लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गरिने योजना सार्वजनिक गर्नुभएको छ ।
खेलकुद विकासका लागि ‘एक पालिका, एक स्टेडियम’ निर्माण तथा उच्च भू–भागमा हाई अल्टीच्युड खेल मैदान स्थापना गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।
प्रत्येक स्थानीय तहमा एक ग्रामीण सहर विकास गर्ने अवधारणा अघि सार्दै व्यवस्थित सहरीकरणलाई प्राथमिकता दिने उहाँको योजना छ । लामो समयदेखि चर्चामा रहेको ठोसे फलाम खानी पुनः सञ्चालन गरी स्थानीय रोजगारी सिर्जना गरिने योजना पनि उहाँको एजेन्डामा छ ।
पर्यटन क्षेत्रलाई राजनीतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै रामेछापलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय नक्सामा स्थापित गर्ने उहाँको लक्ष्य छ ।
‘डिजिटल नेपाल’ अभियानअन्तर्गत जिल्लाभर फोर–जी सेवा विस्तार तथा एआई आधारित डाटा सेन्टर स्थापना गर्ने योजना पनि उम्मेदवार ढुङ्गेलले सार्वजनिक गर्नुभएको छ । प्रविधिमैत्री पूर्वाधारले शिक्षा, स्वास्थ्य, प्रशासन र व्यवसायमा गुणात्मक सुधार ल्याउने उहाँको दाबी छ ।
समग्रमा, प्रतिनिधि सभा सदस्यका उम्मेदवार ढुङ्गेलले रामेछापलाई पूर्वाधार, उत्पादन, प्रविधि र मानव संसाधन विकासका आधारमा रूपान्तरण गर्ने स्पष्ट कार्यदिशासहित मतदातासामु प्रस्तुत हुनुभएको छ ।