detail-img

महासचिव शंकर पोखरेलको अपिल– तपाईंले आश दिनुस्, मैले विश्वास दिन्छु

१३ फागुन (२०८२०, दाङ । नेकपा (एमाले)का महासचिव एवं प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले जनताको आशा र अपेक्षालाई विश्वासमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
आफ्नो जन्मभूमि तुलसीपुर उपमहानगरपालिका–१९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले दाङको समृद्धि र समुन्नत भविष्यका लागि आफूलाई प्रतिनिधि सभा सदस्यमा विजयी गराउन आग्रह गर्नुभयोे ।
वडा कमिटीद्वारा आयोजित सभामा बोल्दै महासचिव पोखरेलले भावुक स्वरमा भन्नुभयो– तपाईंहरूले आश दिनुहोस्, म त्यसलाई विश्वासमा बदल्नेछु । जनताको मत मेरा लागि पद प्राप्तिको माध्यम होइन, दायित्व पूरा गर्ने अवसर हो ।
विगतमा आफूले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गरेको स्मरण गराउँदै उहाँले त्यस अबधिमा दाङको सडक पूर्वाधार, सिचाइ, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । । अबको लक्ष्य दाङलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर जिल्लाका रूपमा विकास गर्नु रहेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो– दाङलाई केवल प्रशासनिक केन्द्र होइन, आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने हाम्रो योजना छ । 
यस क्षेत्रको सिचाइ सुविधा सुनिश्चित गर्न ग्वार खोला बृहत जलाशय आयोजना निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिँदै उहाँले कृषिको आधुनिकीकरण र उत्पादन वृद्धिमार्फत स्थानीय अर्थतन्त्र सुदृढ पार्ने योजना सुनाउनुभयो ।
महासचिव पोखरेलले आस्था र विचारभन्दा माथि उठेर विकासका पक्षमा एकताबद्ध हुन सबैलाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो– विकास कुनै दल विशेषको मुद्दा होइन, यो सम्पूर्ण दाङवासीको साझा सपना हो ।
यसैबीच तुलसीपुर–१६ मा आयोजित वडास्तरीय सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले विकास र समृद्धिको नेतृत्व गर्नसक्ने उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयोे । ज्ञापनपत्र बुझेर विकासका लागि मन्त्रालय धाउने नभई ज्ञापनपत्रलाई कार्यान्वयन गर्ने व्यक्ति आफूलाई विजयी बनाउन उहाँले आग्रह गर्नुभयोे । 
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कोमल वली, नेता भागवत विश्वासीलगायतका वक्ताहरूले पनि मन्तव्य राख्दै महासचिव पोखरेलको नेतृत्वमा दाङले तीब्र विकासको गति लिने विश्वास व्यक्त गर्नुभयोे । वडा कमिटीका अध्यक्ष लोकबहादुर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रामबहादुर पौडेलले गर्नुभएको थियो । 
नेशनल भोलेण्टियर फोर्सको भेला सम्पन्न
यसैबीच, नेशनल भोलेन्टियर फोर्स क्षेत्र नम्बर २ ले घोराहीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले आसन्न निर्वाचनलाई ‘देश जलाउने र देश बनाउने शक्तिबीचको जनमत–सङ्ग्रह’ का रूपमा व्याख्या गर्नुभयो । 
देशका महत्वपूर्ण सम्पदा जलाउनेहरू राष्ट्रका कलङ्क भएको बताउँदै उहाँले भन्नुभयो– देशका सम्पदा जलाउनेहरूलाई जनताले हिसाब खोज्नेछन् । निर्वाचनमार्फत देश बनाउने शक्तिको जनमत बलियो बनाउनुपर्छ ।
देशलाई बन्धक बनाउने शक्तिहरू हावी भए परिवर्तन गुम्ने खतरा बढ्ने बताउँदै महासचिव पोखरेलले युवाहरू गाउँ–गाउँमा पुगेर एमालेको सन्देश फैलाउनुपर्नेमा जोड दिनुभयो । 
उहाँले एमालेले युवा, विद्यार्थी, महिला, अशक्तलगायत सबै समुदायको हितमा काम गरेको बताउँदै नवयुवाहरूलाई आन्दोलनमा धकेलेर देशविरोधी शक्तिहरू हावी हुन खोजेको भनाइ राख्नुभयो । ‘त्यसको जवाफ नवयुवाहरूले मतको माध्यमबाट दिनुपर्छ’, महासचिव पोखरेलले भन्नुभयो । 

कार्यक्रममा नेशनल भोलेन्टियर फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले निर्वाचन बिथोल्न खोजिए त्यसको प्रतिकार गर्न तयार रहन फोर्सका सदस्यहरूलाई निर्देशन दिनुभयो । मुलुकको हित नचाहने शक्तिहरू अस्थिरता फैलाउन सक्रिय रहेको उल्लेख गर्दै उहाँले त्यस्ता प्रयासलाई असफल बनाउन फोर्स लागिपर्ने बताउनुभयो ।
संयोजक श्रेष्ठले भन्नुभयो– झण्डा एमालेको आस्था हो । आफ्नो आस्था जलाउनेहरूलाई कुनै पनि हालतमा छाडिँदैन । आइलाग्ने माथि जाइलागिन्छ । घर र पार्टी कार्यालय जल्दा सहेर बसेको एमाले आफ्नो आस्था जल्दा भने टुलुटुलु हेरेर नबस्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा हेडक्वाटर कमाण्डर सागर भट्ट, एमालेका युवानेता विवेक श्रेष्ठ तथा खेलकुद महासंघ दाङका अध्यक्ष अभिषेक बुढामगरले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । केन्द्रीय कमाण्डर सदस्य त्रिभुवन बर्तौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भीमसेन डाँगीले गर्नुभएको थियो । 
फोर्स क्षेत्र नम्बर २ को कमाण्डरमा भीम थापा
यसैबीच, नेशनल भोलेन्टियर फोर्स क्षेत्र नम्बर २ को कमाण्डरमा भीम थापा चयन हुनुभएको छ । भेलाले थापाको संयोजकत्व फोर्स गठन गरेको हो । सह–कमाण्डरमा संयोग महर्जन, हिरा बिक र यम घर्ती चयन हुनुभएको छ भने सचिवमा सुनिल बानिया रहनुभएको छ । 
हेडक्वाटर कमाण्डरमा सन्जोग श्रेष्ठ, त्रिशक्ति बर्तौला, अनुराग खड्का, तुफान पुन, जय बिक, यशु बुढा, युवक पुन, पुष्प पुन, प्रदीप सुवेदी, समिर पोखरेल, बलदेव जिसी, तेजबहादुर केसी, पवन दशौदी, किसन चौधरी, सुवास बस्नेत, बिनायक बिक र नारायण रोका चयन हुनुभएको छ । सल्लाहकारमा भीमा डिसी, नरेन्द्र पुन, गिरु बिक, अनिल केसी, चुमानसिंह वली, बेचन वली र सलिन बिक रहनुभएको छ ।