१३ फागुन (२०८२), झापा । झापाको गौरीगञ्जका मतदाताले एउटा गाउँनै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई उपहार दिएका छन् ।
आज मतदातासँगको भेटका लागि गौरीगञ्ज–४ को बारसुदी टोल पुग्नुभएका पूर्वप्रधानमन्त्री ओलीको हातबाट टीका लगाई एमालेमा प्रवेश गर्दै उनीहरूले अब यो गाउँनै एमाले र अध्यक्ष ओलीलाई जिम्मा लगाएको बताए । यस गाउँमा रहेका ४५० मतदातामध्ये चारसय जना एमाले प्रवेश गरेका छन् । बाँकी ५० यस अघिनै एमाले रहेका थिए ।
एमालेमा प्रवेश गरेपछि स्थानीय अगुवा गयानन्द यादवले यहाँका कोही पनि मतदाताले अब सूर्य बाहेक अन्यत्र मतदान नगर्ने र सबै एमालेको विजयको पक्षमा लाग्ने भन्दै विश्वास दिलाउनु भयो । उहाँले भन्नुभयो– अब यो गाउँनै तपाईलाई उपहार दिएका छौं, यो ठाउँमा के के विकास गर्ने, कस्तो बनाउने, हामीलाई के के सुविधा दिने अब सवै तपाईंको जिम्मा भयो ।
ठूला सहर दमक तथा विराटनगर भन्दा टाढा रहेको यस क्षेत्रमा निर्माण भएको पक्की हुलाकी राजमार्ग, पाडाजुङ्गी–गौरीगञ्ज सडकको विस्तार र कालोपत्रे अन्य भित्री सडकहरूको पनि स्तरीकरण, विद्युत सेवाको उपलब्धता लगायतका कारण धेरै सुविधा प्राप्त भएको स्थानीय मन्दुदेवी यादवको भनाइ छ ।
कृषि उपजलाई बजारसम्म लैजान, स्वास्थ्य उपचारका लागि अस्पताल जान, बिहान सहरमा गएर रोजगारी गरी साँझ घरैमा आई पुग्न अचेल सजिलो भएको स्थानीयले बताए । पार्टी प्रवेश गर्ने मध्ये धेरै जसो रास्वपा परित्याग गर्ने रहेका छन् ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहनुभएका एमाले अध्यक्ष ओली केही दिन यता गृहक्षेत्रमा व्यस्त रहनुभएको छ ।
अध्यक्ष ओलीलाई मतदाताले भने– हामी तपाईलाई भोट दिन्छौं, तपाईं हामीलाई विकास दिनुस्
गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरूको हात सूर्य बाहेक अन्त जाँदै नजाने बताएका छन् । बुधबार गौरीगञ्ज– ५ को श्यामाटोली पुग्नुभएका पूर्व प्रधानमन्त्री ओलीसँगको भेटमा उनीहरूले आफुहरूले विगत देखिनै नेकपा (एमाले)लाई जिताउँदै आएको र यस पटक पनि जिताएरै छोड्ने अडानमा रहेको सुनाए ।
स्थानीय होवोदेवी राजवंशीले भन्नुभयो– हामी त जुगदेखि एमाले हो । सूर्यबाहेक अन्त भोट हालेकै छैन । यस पटक पनि सूर्यमै हाल्ने हो ।
उहाँले यस क्षेत्रमा बाटो विस्तार गरी बिजुलीको सेवा सहज बनाई दिन अध्यक्ष ओली समक्ष आग्रह गर्नुभयो । यस्तै सोही ठाउँका किरण गनगाईले बाटो, बिजुली केही नभएको ठाउँमा ओलीले नै विकास गर्नु भएको भन्दै बाँकी विकासको जिम्मा लगाउन पनि सूर्यमै भोट हाल्ने बताउनुभयो ।
‘अरु कस्ले गर्छ र जिताउनु ?’ उहाँले भन्नुभयो– जसले गर्छ, उसैलाई त हो भोट दिने ।
रतुवा खोलाको तटबन्धन थप बलियो बनाउन जरूरी रहेको भन्दै अर्का स्थानीय सुकदेव सिंहले अब अध्यक्ष ओलीको जीत पछि यि काम पूरा हुने विश्वास व्यक्त गर्नुभयो । सिमावर्ती गौरीगञ्जको सो गाउँमा पुग्दा एमाले अध्यक्ष ओलीलाई राजवंशी, सन्थाल लगायतका आदिबासी समुदायका स्थानीयले हर्षउल्लासपूर्वक स्वागत गरेका थिए । काखे नानी च्यापेर आएका महिलाहरूले समेत अध्यक्ष ओलीसँग मातृभाषामा समेत साक्षात्कार गरेका थिए ।