detail-img

एमाले एक्लै चुनावी मैदानमा छः अध्यक्ष ओली

१४ फागुन (२०८२), दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा (एमाले) एक्लै चुनावी मैदानमा रहेको बताउनुभएको छ । 
नेकपा (एमाले)लाई बहुमतसहित निर्णायक शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको सबै नागरिकले समेत बुझिसकेको उहाँले जनाउनुभएको छ । 
चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहीबार झापाको कमल गाउँपालिकामा केन्द्रित हुनुभएका अध्यक्ष ओलीले विभिन्न सञ्चार माध्यमसँग कुराकानी गर्दै चुनावपछि देश सम्हाल्न नेकपा (एमाले) तयार रहेको समेत बताउनुभयो ।  उहाँले नेकपा (एमाले)ले राष्ट्रिय स्वाभिमान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास र समृद्धिका लागि निर्वाह गरेको भूमिकाका कारण एमाले नै अहिलेको आवश्यकता हो भनेर बुझ्नुलाई अन्यथा लिन नहुने पनि बताउनुभयो । 
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार समेत रहनुभएका अध्यक्ष ओली हाल निर्वाचन क्षेत्रका विभिन्न वस्तीमा पुगेर मतदाताहरूसँगको भेटघाटमा व्यस्त रहनुभएको छ । 
यसैक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओली बिहीबार झापाको कमल–५ स्थित सिम्लेमा पुग्दा स्थानीयले भूमि सम्बन्धी समस्या समाधान गरिदिन आग्रह गरे । सडक तथा पुल निर्माण भएपछि जनजीवन सहज भए पनि अझैसम्म अव्यवस्थित बसोबासको समस्या समाधान नभएको स्थानीयले बताए ।  यस्तै उहाँ कमल–३ को सानो केर्खामा पुग्दा स्थानीय किरातेश्वर तथा वाल्मीकि आश्रम तथा सिमसारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिदिन स्थानीयले माग गरे । यि स्थानहरूको पूर्वाधार विकास गरी धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गराउन सकिने स्थानीयको भनाइ छ । 
यस्तै उहाँ कमल–५ को झारवारीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा पनि सहभागी हुनुभयो ।