detail-img

अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैनः अध्यक्ष ओली

१५ फागुन (२०८२), दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताउनुभएको छ । 
मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बलजफ्ती विघटन गरिएपछि देश सङ्कटतर्फ धकेलिएको अध्यक्ष ओलीले बताउनुभयो । 
झापाको दमकमा आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आयोजना गरेको बासँग विद्यार्थी कार्यक्रममा उहाँले देशमा आइपरेको सङ्कटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताउनुभयो । 
उहाँले एमाले चुनावबाट न भाग्ने भएकाले देशैभरि पार्टी चुनावमा केन्द्रित भएको उल्लेख गर्दै आगामी चुनावबाट एमालेनै पहिलो शक्ति बन्ने र देशमा आइपरेका समस्याहरूको समाधान निकाल्ने बताउनुभयो । 
पूर्वप्रधानमन्त्री ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने बताउनुभयो । चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको उहाँको भनाइ छ । 
कार्यक्रममा उहाँले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरू चिर्ने काममा लाग्न आग्रह गर्नुभयो । 
कार्यक्रममा युवा विद्यार्थीहरूले अध्यक्ष ओली समक्ष विभिन्न जिज्ञासा राखेका थिए । उनीहरूको जिज्ञासा सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै पनि पार्टीले कस्तो भूमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने भन्दै एमालेका कार्यक्रम र सिद्धान्तहरू जनतासम्म पुर्याउन सुझाव पनि दिनुभयो ।

मुस्लिम अगुवाहरुसँग एमाले अध्यक्ष ओलीको भेट

यसैबीच, अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का विभिन्न टोलमा पुगेर मतदातहरूसँग भेट गर्ने क्रममा आज गौरादह–४ को खाङ्टा पुग्दा स्थानीय मुस्लिम समुदायका अगुवाहरूले मदरसासम्म पुग्ने सडक निर्माण गरिदिन तथा जन्मसिद्ध नागरिकता वितरणलाई सहज बनाइदिन आग्रह गरेका थिए । 
अध्यक्ष ओलीले गौरादहका मियाटोली, दुर्गाचोक, मजुवा लगायत बस्तीहरूमा पुगेर मतदाताहरूसँग भेटघाट गर्नुभएको हो ।