detail-img

दाङमा विभिन्न पार्टी छाडेर २६९ युवा एमाले प्रवेश

१४ फागुन (२०८२), दाङ । दाङमा नेकपा (एमाले) प्रवेश गर्नेहरूको सङ्ख्या पछिल्लो समय तीब्र रूपमा बढिरहेको छ । फागुन २१ नजिकिँदै गर्दा विशेषगरी युवापुस्तामा एमालेप्रति आकर्षण बढेको देखिएको छ ।
शुक्रबार घोराहीमा आयोजित विशेष कार्यक्रममा विवेक बुढा मगरको नेतृत्वमा २६९ जना युवा तथा महिलाहरू एमालेमा प्रवेश गरेका छन् । 
कार्यक्रममा पार्टीका महासचिव तथा दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले २०९ जना युवा र अन्य ६० जना गरी कुल २६९ जनालाई पार्टीमा स्वागत गर्नुभयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको भविष्य निर्माणमा युवाको भूमिका निर्णायक हुने बताउनुभयो । 
उहाँले भन्नुभयो– देशको भविष्य निर्माणमा युवाको सक्रिय सहभागिता अपरिहार्य छ । आजका नवयुवा विध्वंस होइन, विकास र समृद्धिको पक्षमा उभिएका छन् ।
युवाको ऊर्जा सकारात्मक दिशामा प्रयोग हुनुपर्ने धारणा राख्दै महासचिव पोखरेलले आजका युवा देश जलाउने होइन, देश बनाउने अभियानमा जुटेको बताउनुभयो । उहाँले राष्ट्रको समृद्धि र स्थायित्वका लागि युवाको शक्ति र सोचलाई सिर्जनात्मक दिशामा अघि बढाउनुपर्ने धारणा राख्नुभयो । 
महासचिव पोखरेलले यसपालीको निर्वाचनलाई मुलुकको समृद्धि चाहने शक्ति र अस्थिरता निम्त्याउने प्रवृत्तिबीचको वैचारिक सङ्घर्षका रूपमा चित्रण गर्नुभयो । 
उहाँले भन्नुभयो– यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र होइन, देशलाई सही दिशामा लैजाने र अस्थिरता निम्त्याउने शक्तिबीचको निर्णायक सङ्घर्ष हो ।
आगामी फागुन २१ गते हुने निर्वाचन निर्णायक हुने दाबी गर्दै महासचिव पोखरेलले एमालेप्रतिको जनताको विश्वास र समर्थन निरन्तर बढिरहेको जानकारी गराउनुभयो । विकास, सुशासन र स्थायित्वप्रतिको हाम्रो प्रतिबद्धताले एमालेप्रति जनलहर सिर्जना भएको र आगामी निर्वाचनपछि एमाले देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने विश्वास महासचिव पोखरेलले व्यक्त गर्नुभयो । 
आर्थिक विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सुशासन स्थापना पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै उहाँले युवालाई नवीन सोच, सीप र प्रविधिमार्फत राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो । महासचिव पोखरेलले भन्नुभयो– युवा राष्ट्र निर्माणका मुख्य आधारशक्ति हुन् । नवीन सोच, सीप र प्रविधिको प्रयोगमार्फत देशको विकासमा अग्रसर हुन म सबै युवालाई आह्वान गर्दछु ।
पार्टी प्रवेश गरेका जेन–जीका प्रतिनिधि युवाहरूले डिजिटल प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको माध्यमबाट राष्ट्र निर्माणमा योगदान दिन चाहेको धारणा व्यक्त गरे । त्यस क्रममा विवेक बुढा मगरले भन्नुभयो– हामी परिवर्तन चाहन्छौँ, तर त्यो सकारात्मक परिवर्तन हुनुपर्छ । रोजगारी, शिक्षा र अवसरका क्षेत्रमा सुधारका लागि हामी सक्रिय हुन चाहन्छौँ ।
एमालेमै फर्किए बामदेव गुरुङ
यसैगरी, घोराही उपमहानगरपालिका वडा नम्बर ४ का बामदेव गुरुङ पुनः एमालेमा फर्किनुभएको छ । केही दिनअघि एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका गुरुङलाई एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले पुनः पार्टीमा फर्काउनुभएको हो ।
गुरुङ लामो समय एमालेको संगठन निर्माण र स्थानीय तहको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका नेता हुनुहुन्छ । गुरुङको पुनरागमनले वडा नम्बर ४ सहित घोराही क्षेत्रमा एमाले संगठन थप सुदृढ हुने पार्टीका नेताहरूको विश्वास छ । गुरुङले आफू एमालेमै रहेर जनताको विकास र समृद्धिका पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।