१५ फागुन (२०८२), बुटवल । रूपन्देहीको बुटवल र सैनामैनाबाट गरी रास्वपा र नेकपासहित विभिन्न पार्टीका करिब साढे तीनसय कार्यकर्ता तथा समर्थक नेकपा (एमाले) मा प्रवेश गरेकाछन् ।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उनीहरूलाई आज पार्टीमा प्रवेश गराउनुभयो ।
विहान बुटवल उपमहानगरको वडा नं १२ र १३ बाट र दिउँसो सैनामैनाको विभिन्न वडाबाट साढे तीन सय जनालाई पार्टी प्रवेश गराइएको जिल्ला उपसचिव बाबुराम पन्थीले जानकारी दिनुभयो ।
नवप्रवेशीहरूलाई स्वागत गर्दै उपाध्यक्ष पौडेलले स्वस्फुर्तरूपमा पार्टी प्रवेश गरेर बलियो एमाले बनाउन चाहेकोमा खुशी व्यक्त गर्नुभयो ।
उपाध्यक्ष पौडेलले त्यो क्षेत्रको भरोसा गर्नेखालको काम गरेर देखाउने बताउनुभयो । उहाँले भन्नुभयो– मैले यहाँ आएका जेनजी उमेरका, पाकापुस्ता सबैलाई देखेको छु, सबैले एमाले र मेरो आधार मानेर विश्वास गर्नुभएको छ, हामी तपाईहरूको भावनाअनुसार अघि बढ्नेछौं ।
पार्टी प्रवेश कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष तथा रुपन्देही–२ निर्वाचन परिचालन कमिटीका संयोजक भोजप्रसाद श्रेष्ठले सबै क्षेत्रबाट आएका सुझावका आधारमा पार्टीले काम गर्ने र आफ्नो क्षेत्रमा आएका समस्याहरू तत्कालै दिन सबैलाई आग्रह गर्नुभयो ।