सबैलाई सजगता र धैर्यता लिन आह्वान
१७ फागुन (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् भन्ने कामना गर्नुभएको छ ।
मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको सामाजिक सञ्जाल फेसबुकमा जनाउनुुभएको छ ।
मध्यपूर्वमा रहेका लाखौं नेपाली आपत र कोलाहलमा भएकाले उनीहरूका परिवार पलपल छट्पटाएर बस्नुपरेको अध्यक्ष ओलीले लेख्नुभएको छ ।
अध्यक्ष ओलीले लेख्नुभएको छ– मध्यपूर्वी देशहरू माथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृष्यले आज निद्रा परेको छैन । ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्, तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नुपरेको छ ।
अवसर छनौटका लागि खुला विश्वमा आज संसारका नागरिक संसारैभरि आउनु जानु स्वभाविक भएको अध्यक्ष ओलीको भनाइ छ । ‘अस्वभाविक र खतरनाक कुरा त युद्ध र भूराजनीतिक चपेटा हो’ अध्यक्ष ओलीले लेख्नुभएको छ ‘ति देशहरू पनि पक्कै युद्ध चाहँदैन थिए तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।
नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको उल्लेख गर्दै अध्यक्ष ओलीको प्रार्थना छ– कुनै पनि आवरणमा त्यो आउन नसकोस् । आज तपाईंहरूलाई छटपटी भइरहँदा म निदाउन सकिन । बेचैन छु ।
अध्यक्ष ओलीले सबैलाई सजगता र धैर्यता लिन आह्वान गर्नुभएको छ । ‘यसबेला हाम्रो सजगता चाहिन्छ, धैर्य चाहिन्छ । विवेक, धैर्य र साहस –कामना गर्छु’ अध्यक्ष ओलीले लेख्नुभएको छ ।