१७ फागुन (२०८२), दमक । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीले हार व्यहोर्नु परे देशले नै हार भोग्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले)का अध्यक्ष ओली उम्मेदवार रहनुभएको झापाको कमल गाउँपालिकामा आइतबार आयोजित मोटरसाईकल र्यालीको उद्घाटनका क्रममा उहाँले आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिलाई विजयी गराउन आग्रह गर्नुभयो ।
अहिले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरिरहेको र एमालेको नेतृत्व केपी शर्मा ओलीले गर्नुभएकाले एमाले र अध्यक्ष ओलीको जीत जरूरी रहेको उपमहासचिव भट्टराईले बताउनुभयो ।
झापाले नेपाली कम्युनिष्ट आन्दोनलाई पुनर्जीवन दिएको उल्लेख गर्दै झापाले राष्ट्रवादी शक्तिलाई निर्वाचित गराई देशव्यापी सन्देश दिनेमा आफु ढुक्क र विश्वस्त रहेको उहाँले बताउनुभयो ।
झापा क्षेत्र नं. ५ अन्तर्गतको कमल गाउँपालिका वडा नं. ७ को गेउरीयामा आयोजित सभामा उहाँले यस क्षेत्रमा भएको विकासको मोडल देशकै लागि नमूना रहेको समेत बताउनुभयो ।
नेपालका कम्युनिष्टहरूका लागि झापा अति पवित्रस्थल रहेको बताउँदै उपमहासचिव भट्टराईले झापामा एमालेको जित सिङ्गो कम्युनिष्ट आन्दोलनको जितसँग जोडिएको विषय भएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो– केपी शर्मा ओलीको विजय वा पराजय नेकपा (एमाले)सँग मात्र जोडिएको छैन, यो देशको विजय वा पराजयसँग जोडिन्छ । यो विषय देश र नेपाली जनताको स्वाभिमानसँग प्रत्यक्ष सम्बन्धित विषय हो । यो विषय नेपाली राष्ट्रियता, स्वाभिमान र नेपालीत्वसँग जोडिएको छ । अध्यक्ष ओलीको विजय भनेको यो देशको स्वाभिमानलाई माथि उठाउने कुरा हो, राष्ट्रियतालाई सुदृढ बनाउने कुरा हो र ‘हामी नेपाली हौँ’ भन्ने पहिचानलाई अझ गर्वका साथ उचाल्ने विषय हो ।
उपमहासचिव भट्टराईले वर्तमान अवस्थामा पार्टीका आन्तरिक विषयलाई उठाउने समय नभएको धारणा राख्नु भयो । अहिलेको आवश्यकता एकढिक्का भएर पार्टीलाई विजय गराउने भएकोमा उहाँले जोड दिनुभयो ।
पार्टीभित्र कोही संगठन सञ्चालनको जिम्मेवारीमा, कोही संसदमा र कोही स्थानीय तहमा रहेर काम गरिरहेको उल्लेख गर्दै उहाँले यस विषयलाई लिएर अनावश्यक चर्चा–परिचर्चा गर्न आवश्यक नरहेको बताउनुभयो । पार्टीका सबै नेता–कार्यकर्ताले आ–आफ्नो स्थानमा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।