detail-img

घोराहीमा उर्लियो एमालेको जनसागर 

साझा जनप्रतिनिधिको रूपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्छुः महासचिव पोखरेल

१७ फागुन (२०८२), दाङ । नेकपा (एमाले) दाङ क्षेत्र नम्बर २ ले घोराहीमा ‘रोड सो’ को आयोजना गरेको छ । घोराहीको लखन पार्कबाट सुरु भएको ‘रोड सो’ मा हजारौं समर्थकको सहभागिता रह्यो । 
दाङ क्षेत्र नम्बर २ का गाउँगाउँबाट आएका एमाले समर्थकले घोराही बजार भरिभराउ भएको थियो । ‘नेकपा (एमाले) जिन्दावाद, दाङले के भन्छ ? शंकर पोखरेल ले भन्छ’ जस्ता नारा लगाउँदै सहभागीहरूले घोराहीका सडक गुञ्जायमान बनाएका थिए । 
घोराहीको दीपशिखा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले साझा जनप्रतिनिधिका रूपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्ने बताउनुभयो । 
दाङको समृद्धिका लागि सङ्कल्प पत्रका साथ आफू निर्वाचनमा होमिएको भन्दै उहाँले पाँच वर्षभित्र गर्ने कामको फेहरिस्त तयार पारेर अगाडि बढेको हुँदा सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन आग्रह गर्नुभयो । 
आफू राजनीतिक रूपमा स्थापित भइसकेको उल्लेख गर्दै महासचिव पोखरेलले अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता औल्याउनुभयो । केन्द्रमा सशक्त उपस्थिति बिना दाङले अपेक्षित बजेट र प्राथमिकता पाउन नसक्ने जिकिर गर्दै आफ्नो विजयले दाङको विकास र समृद्धिको यात्रा निष्कर्षमा पुग्ने उहाँको भनाइ थियो ।
दाङ अहिले ऐतिहासिक ‘टर्निङ पोइन्ट’ मा उभिएको भन्दै महासचिव पोखरेलले अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पुनः पछाडि फर्कने बीचको महत्वपूर्ण छनोट भएको बताउनुभयो ।
महासचिव पोखरेलले आफूले अघिल्लो कार्यकालमा अघि सारेका अधिकांश प्रतिबद्धता पूरा गरेको बताउँदै बाँकी अधुरा योजनाहरू सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गर्नुभयो । उहाँले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने सङ्कल्प सफलतापूर्वक पूरा गरिएको स्मरण गराउनुभयो । 
संस्थापक मुख्यमन्त्रीका रूपमा सङ्घीयता कार्यान्वयनको नेतृत्व गरेको उल्लेख गर्दै महासचिव पोखरेलले राजधानीको गुरुयोजना निर्माण, प्रदेशसभा भवन तथा स्थायी पूर्वाधार निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । 
दीर्घकालीन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै घोराही–तुलसीपुर चारलेन सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो । साथै घोराही–लमही सडकखण्ड अन्तर्गत अर्जुनखोला–मसौट र चौपट्टा खण्डका चारलेन सडकको डीपीआर तयार भई वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।
औद्योगिक विकासतर्फ ३५० बिगाहा क्षेत्रफलमा घोराही औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया तीब्र गतिमा अघि बढेको र डिपिआर तयारी भइरहेको जानकारी दिँदै महासचिव पोखरेलले ग्वार खोला हाई ड्याम तथा माडी डाइभर्सन आयोजनाका लागि बजेट विनियोजन र अध्ययन कार्य सुरु भएको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र एमडी अध्ययन सुरु हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको उहाँले बताउनुभयो । लमहीमा ट्रमा सेन्टर स्थापना प्रक्रिया अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्र सेवा सञ्चालनमा ल्याउने लक्ष्य रहेको महासचिव पोखरेलको भनाइ थियो । 
उच्च शिक्षातर्फ त्रिभुवन विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पस निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको र यसले दाङलाई प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने आधार तयार भएको उहाँले बताउनु भयो ।
महासचिव पोखरेलले कृषि तथा सामाजिक पूर्वाधार क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत उत्पादन वृद्धि र किसानको आयवृद्धिमा उपलब्धि हासिल भएकोे जानकारी गराउनुुभयो । पर्यटन तथा धार्मिक क्षेत्रको विकासतर्फ अम्बिकेश्वरी मन्दिर, छिल्लिकोट र धारपानीलगायत स्थानमा पूर्वाधार विस्तार गरिएको उहाँँले बताउनुभयो । भूमिहीनलाई लालपुर्जा वितरणका लागि आयोग गठन गरी काम सुरु गरिएको उहाँले बताउनुभयो ।