detail-img

‘नेपाललाई विदेशीको परेड खेल्ने स्थल हुनबाट जोगाउन राष्ट्रवादी शक्तिको जित आवश्यक’

१७ फागुन (२०८२), दमक । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत सङ्ग्रहमा रूपमा रहेको बताउनुभएको छ । 
यो निर्वाचनले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निक्र्यौल गर्ने भएकाले यसलाई जनमत सङ्ग्रहको रूपमा लिनुपर्ने उहाँले बताउनुभयो । 
अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ का मतदाताहरूसँग साक्षात्कार गरिरहनुभएको छ । 
यसै क्रममा आइतबार दमक १ मा भएको कार्यक्रममा उहाँले देशलाई अस्तव्यस्ततामा धकेलेर अस्थिरता निम्त्याउन खोज्नेहरू सक्रिय हुन खोजेको भन्दै अध्यक्ष ओलीले आगामी चुनावबाट त्यस्तालाई सधैंका लागि थान्को लगाउनुपर्ने बताउनुभयो । नेपाललाई विदेशीको परेड खेल्ने स्थल हुनबाट जोगाउन समेत आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिको जित जरुरी रहेको भन्दै उहाँले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरिरहेको उहाँले बताउनुभयो ।