detail-img

आयोगको प्रतिवेदन निन्दनीय, खेदजनक र अस्वीकार्यः अध्यक्ष ओली

-गौरीबहादुर कार्की आयोगको प्रतिवेदन चरम लापरबाहीपूर्ण, चरित्र हत्या गर्ने तथा घृणाको राजनीति झल्काउने खालको

-निर्वाचनमा अभूतपूर्व धक्का खाए पनि हामी नराम्रो कामबाट पछाडि परेका र पारिएका होइनौं,  त्यसैले निराश हुनुपर्ने अवस्था छैन

१२ चैत (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्यहरूलाई वर्तमान विषम परिस्थितिमा संसदमा जिम्मेवार र निष्ठावान् भएर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै सांसदहरूले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुहुने विश्वास व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– अहिलेको विषम परिस्थितिमा तपाईंहरूले सांसदको हैसियतले अति जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
उहाँले महाभारतको प्रसङ्ग उल्लेख गर्दै सत्यको पक्ष अन्ततः विजयी हुने विश्वास व्यक्त गर्नुभयो । ‘कौरवको सेना धेरै र शक्तिशाली थियो, पाण्डवको सेना थोरै थियो तर अन्ततः नतिजा सत्यको पक्षमा आयो,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले नेकपा (एमाले) अग्रगामी विचार बोकेको पार्टी भएकाले अनुशासित र विचारमा आधारित भएर अघि बढ्न सांसदहरूलाई आग्रह गर्नुभयो । 
निर्वाचन परिणामबारे सङ्क्षिप्त टिप्पणी गर्दै अध्यक्ष ओलीले यसपटकको निर्वाचनलाई ‘अनपेक्षित, अपत्यारिलो र जादुमय’ भएको बताउनुभयो । 
नेकपा (एमाले) देशको विकास, राष्ट्रिय हित, लोकतन्त्रको सुदृढीकरण र समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य पूरा गर्ने दिशामा अगाडि बढिरहेको समयमा यिनै काम मन नपराउनेहरूले, न्यायपूर्ण समाज निर्माणको हाम्रो उद्देश्य नरुचाउनेहरूले हाम्राविरुद्ध घृणाको खेती गर्न थालेका र तिनीहरूलाई सबैतिरको सहयोग प्राप्त भएको बताउँदै उहाँले राम्रो काम गरिरहेकै कारण  एमालेमाथि आक्रमण केन्द्रित भएको बताउनुभयो । 
तथ्य र तर्कमा आधारित भएर होइन, असभ्य र अश्लील गालीगलौजमार्फत भएको प्रहारको जवाफ पार्टीले आफ्नो सभ्य शैलीले प्रभावकारी रूपमा दिन नसकेको अध्यक्ष ओलीले बताउनुभयो । 
‘हामी नराम्रो कामबाट पछाडि परेका र पारिएका होइनौं,  त्यसैले निराश हुनुपर्ने अवस्था छैन’ भन्दै अध्यक्ष ओलीले सांसदहरूलाई थप सक्रिय र एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।
निर्वाचनमा अभूतपूर्व धक्का खाए पनि यो पार्टीको अयोग्यता र त्रुटीका कारण नभई हाम्रा सही नीतिप्रतिको प्रहार झेल्न नसकेर धक्का खानुपरेकाले हीनताबोध गर्नु आवश्यक नरहेको उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन चरम लापरबाहीपूर्ण, चरित्र हत्या गर्ने तथा घृणाको राजनीति झल्काउने खालको रहेको बताउनुभयो । 
आयोगले अत्यधिक पूर्वाग्रही भएर प्रतिवेदन तयार गरेको र यो  ‘निन्दनीय, खेदजनक र अस्वीकार्य’ रहेको उहाँले बताउनुभयो ।  
न्यायिक तथा सुरक्षा निकायमा उच्च पदमा काम गरिसकेका व्यक्तिहरू संलग्न भएर तयार गरिएको प्रतिवेदन नै यति निराधार देखिनु गम्भीर विषय भएको उहाँले बताउनुभयो । 
उक्त आयोग निष्पक्ष नहुने पार्टीले सुरुदेखि नै भनेको स्मरण गराउँदै अध्यक्ष ओलीले भन्नुभयो– पहिल्यै धारणा राखिसकेका व्यक्तिलाई जिम्मा दिँदा सत्यमा आधारित प्रतिवेदन आउँदैन भन्ने हाम्रो भनाइ थियो  ।
आफू, तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई आयोगले फौजदारी मुद्दा चलाउन गरेको सिफारिस चरम पूर्वाग्रहपूर्ण, चरित्र हत्या गर्ने र बदनाम गर्ने मनशाय रहेको अध्यक्ष ओलीले बताउनुभयो । 
फौज्दारी संहिताको सो दफा अनुसार कारबाही चलाउन व्यक्ति घटनास्थलमा उपस्थित रहेको हुनुपर्ने तर आयोगले उपस्थित नै नभएको व्यक्तिलाई कारबाहीको सिफारिस गरेको उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले सबै नवनिर्वाचित सांसदहरूलाई बधाई दिनुभयो ।