-गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत, तत्काल रिहाइको माग
-प्रतिशोधपूर्ण कारबाहीको दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गरिने
-जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल सरकारलाई विरोध–पत्र बुझाइने
१४ चैत (२०८२), काठमाडौं । नेकपा (एमाले)ले पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई आज विहान गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भत्र्सना र विरोध गरेको छ ।
पार्टीका उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज बसेको केन्द्रीय सचिवालयको पाँचौं बैठकले अध्यक्ष ओली र कांग्रेस नेता लेखकको गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको ठहर गर्दै उहाँहरूलाई तत्काल रिहाइको माग गरेको छ ।
बैठकपछि पार्टीका महासचिव शंकर पोखरेलले पत्रकारहरूलाई सचिवालय बैठकको निर्णय जानकारी गराउँदै प्रतिशोधपूर्ण कारबाहीको दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गरिने बताउनुभयो ।
सचिवालय बैठकले अध्यक्ष ओलीको गिरफ्तारीको विरुद्धमा भोलि चैत १५ गते आइतबार पार्टीका जिल्ला कमिटीहरूको आयोजनामा जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल सरकारलाई विरोध–पत्र बुझाइने कार्यक्रम तय गरेको छ ।
बैठकपछि पार्टीका तर्फबाट महासचिव पोखरेलद्वारा जारी प्रेस विज्ञप्ति यस प्रकार छः
प्रेस विज्ञप्ति
आज नेकपा (एमाले) केन्द्रीय सचिवालयको पाचाँै बैठक उपाध्यक्ष कमरेड रामबहादुर थापाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सम्पन्न भयो । बैठकले निम्नानुसारको प्रस्ताव पारित गरेको छ । यो बैठक,
१. हाम्रो पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांगे्रसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भत्र्सना र विरोध गर्दछ । उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको ठहर सहित उहाँहरुलाई तत्काल रिहाइको माग गर्दछ ।
२. २०८२ भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि तत्कालीन सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति हाम्रो पार्टीको सुरुदेखि नै असहमती र विरोध रहँदै आएको छ । उक्त आयोगप्रति सम्मानित सर्वोच्च अदालतले समेत गम्भीर प्रश्नहरु उठाएको कुरा विदितै छ । आयोगद्वारा प्रस्तुत प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहेको हाम्रो पार्टीको ठहर छ । तसर्थ, उक्त घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानविन आयोग गठन गर्न यो बैठक माग गर्दछ ।
३. हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांगे्रेसका नेता रमेश लेखक माथि गरिएको नियोजित, निर्देशित र गैरकानुनी गिरफ्तारीको विरोध, उहाँहरुको रिहाई, कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाको गर्न संयुक्त एवम् प्रभावकारी पहलकदमीका लागि राजनीतिक दलहरु, नागरिक समाज र आमजनसमुदायलाई हार्दिक अनुरोध गर्दछ ।
४. आज बिहानको गिरफ्तारीले संविधान, लोकतन्त्र र मानवअधिकारका पक्षधर राजनीतिक शक्तिहरु र आम नागरिकलाई चिन्तित तुल्याएको छ । हाम्रो पार्टीले यस प्रतिशोधपूर्ण कारबाहीको दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्नेछ । यस घटनाबाट कत्ति पनि विचलित नभई देश, जनता र लोकतन्त्रको पक्षमा एकता र दृढताका साथ अघि बढ्न समस्त पार्टीपंक्तिलाई आह्वान गर्दछ ।
५. आजको गिरफ्तारीको विरुद्धमा भोलि चैत १५ गते आइतबार पार्टीका जिल्ला कमिटीहरुको आयोजनामा जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल सरकारलाई विरोध–पत्र बुझाइने कार्यक्रम तय गरिएको छ । आवश्यकता अनुसार अन्य राजनीतिक दलहरुसँग सम्वाद र समन्वय गरी विरोधका थप कार्यक्रमहरु तय गरिनेछ ।