१५ चैत(२०८२), काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि आज सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरिएको छ ।
पूर्व प्रधानमन्त्री ओलीलाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै उहाँकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन पत्र दर्ता गराउनुभएको हो ।
निवेदन पत्रमा अध्यक्ष ओलीलाई बन्दीप्रत्यक्षीकरण लगायत अन्य उपयुक्त आदेश जारी गरी सम्मानित अदालतको रोहमा तत्काल थुनामुक्त गर्नु गराउनु भनी परमादेश लगायत जो चाहिने अन्य उपयुक्त आदेश जारी गरी पाऊँ भनी माग गरिएको छ ।
बन्दीप्रत्यक्षीकरण निवेदनमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको छ । अध्यक्ष ओलीलाई शनिबार पक्राउ गरिएको थियो ।
अध्यक्ष ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरिएपछि पार्टीको शनिबार बसेको केन्द्रीय सचिवालयको बैठकले त्यसको कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।